क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल-क्यानडाबीच भएको खेलमा धेरै सम्भावनाहरू हुँदा पनि क्यानडाले राम्रो गर्न नसकेको बताएका छन्।
बिहीबार नेपालसँग एकदिवसीय खेलमा पराजित भएपछि प्रशिक्षक दासानायकेले आजको खेलबाट चाहेको नतिजा प्राप्त गर्न नसकेको बताएका हुन्।
'टोलीको दृष्टिकोणबाट हेर्ने हो भने अनुभवको आधारमा खुसी छु,' उनले भने, 'तर हामीले जे नतिजा प्राप्त गर्न चाहन्थ्यौं, त्यो सकेनौं।'
नयाँ परिवेश हुँदा राम्रा खेलाडी हुँदा पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकेको उनले बताए।
'मलाई लाग्छ बलरहरूले राम्रो बलिङ गरे र हामीले सुरक्षित खेल्ने प्रयास गरेका थियौं,' उनले भने, 'दर्शकदीर्घाको परिवेशले गर्दा हामी केहीबेर विचलित भयौं। जसले गर्दा हाम्रा खेलाडीहरू पनि दबाबमा थिए।'
प्रशिक्षक दासानायकेले पहिलो पटक नेपालविरूद्ध खेल्नु निकै राम्रो अनुभव भएको बताए। त्यस्तै, आफूले सँगै काम गरेका खेलाडीहरूले राम्रोसँग खेलेको देख्दा खुसी लागेको उनको भनाइ छ।
'मेरो लागि आज सबभन्दा ठूलो कुरा भनेको नेपालका खेलाडीहरू एकजुट भएर खेलेको देख्न पाउनु थियो,' उनले भने, 'जब सही ठाउँमा सही व्यक्तिहरू पुग्छन्, विशेषगरी सहयोगी राष्ट्रहरूका लागि, यसले मद्दत गर्छ।'
त्यस्तै, उनले पारस खड्का र बिनोद दासलाई सही स्थानमा देख्न पाउँदा खुसी लागेको उनले बताए। उनी नेपाली क्रिकेट टोलीका प्रशिक्षक थिए।