नामिबिया, नेदरल्यान्ड्स र नेपालबीचको टी-२० सिरिजको सुरूआत घरेलु टिम नेपालका लागि सुखद् हुन सकेन।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाका जान निकोल लेफ्टी इटनले विश्व कीर्तिमानी शतक बनाएको खेलमा नेपाल २० रनले पराजित भयो।
टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतिमा २०६ रन जोड्यो। ३३ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका निकोलले १०६ रन जोडे। निकोलले नेपालका कुशल मल्लले मंगोलियाविरूद्ध ३४ बलमा शतक प्रहार गरेर बनाएको विश्व कीर्तिमान भंग गरेका हुन्।
खेलमा नेपालले एक जना पनि विशेषज्ञ स्पिनरलाई खेलाएको थिएन। पार्टटाइमको रूपमा कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए। जसमा कप्तान रोहितले २ विकेट लिएका थिए। तीन जना स्पिनरसँगै नेपालबाट थप चार तीव्र गतिका बलरले खेलेका थिए। गुल्सन झाले एक ओभर बलिङ गर्दा करण केसी र सोमपाल कामीले ३-३ ओभरमा र अभिनास बोहराले ४ ओभरमा बलिङ गरे। जसमा करण र अभिनासले १-१ विकेट लिए।
अघिल्ला एक दिवसीय खेलमा खेलमा प्रमुख स्पिनरको रूपमा खेलेका ललितनारायण राजवंशी मंगलबार बेञ्चमा राखिएका थिए।
नेपालले खेलमा ११ औं ओभर भित्रमा नामिबियाको ३ विकेट लिएको थियो। त्यसपछि भने नेपाली बलर चल्न सकेनन्। लगातार नेपाली बलरमाथि नामिबियाका ब्याटरद्वय जान निकोल र मलान क्रुगरले आक्रमक ब्याटिङ गरेका थिए।
नामिबियाले पछिल्लो ९ ओभरमा १४० रन जोडेको थियो। जसका कारण उसले २०६ रनको विशाल योगफल खडा गरेको थियो।
‘हामीले सुरूआती ओभरमा राम्रो बलिङ गरेका थियौं। तर त्यसपछि भने लय नामिबियातर्फ गयो। निकोलले उत्कृष्ट ब्याटिङ गरे,’ नेपालका कप्तान रोहितकुमार पौडेलले भने, ‘हामीले नामिबियाको ब्याटिङ अडरलाई मध्यनजर गर्दै विशेषज्ञ स्पिनर नखेलाएका हौं। उनीहरूको धेरै ब्याटर लेफ्टी थिए। अर्कोतर्फ आजको विकेट ब्याटिङका लागि राम्रो थियो।’
कप्तान रोहितले आफूहरूको कुनै पनि योजनाले काम नगरेको पनि बताए।
‘आजको खेल क्लोज केन्टेस्ट थियो। हामीले डेथ ओभरमा राम्रो गर्न सक्नुपर्थ्यो,’ उनले भने।
नेपाललाई पछिल्लो २ ओभरमा २४ रन चाहिएको थियो भने २ विकेट मात्र बचेको थियो। तर १९औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी ४८ रनमा रुबेन ट्रम्पलम्यानको बलमा आउट भएका थिए।
‘हामीले ट्रम्पलम्यानको ओभरमा एउटा बाउन्ड्री प्रहार गरेर अन्तिम ओभरमा जान सक्ने बारे सोचेका थियौं,’ उनले भने, ‘तर दिपेन्द्र दाइ आउट हुनुभयो।’