नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल बुधबार नेदरल्यान्ड्सविरुद्धको टी-२० खेलमा डकआउट भए।
नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले चौथो बलमै विकेट गुमाउने क्रममा कुशललाई शून्यमा गुमायो।
यसअघि उनी मंगलबार नामिबियाविरूद्धको पहिलो टी-२० खेलमा पनि गोल्डेन डकआउट भएका थिए।
नेपालले टी-२० सिरिजअघि नामिबिया र नेदरल्यान्ड्ससँग आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज खेलको थियो।
एकदिवसीय सिरिजको पहिलो खेलमा कुशल नामिबियाविरुद्ध इनिङकै पहिलो बलमा आउट हुने क्रममा रोयल डक भएका थिए। त्यसपछिका तीन एकदिवसीय खेलमा कुशलले नेदरल्यान्ड्सविरुद्ध २८ रन, नमिबियासँग १८ रन र नेदरल्यान्ड्सविरुद्ध ६६ रन जोडेका थिए।
टी-२० सिरिजका सुरुवाती दुवै खेलमा डकआउट हुँदा कुशलले पछिल्ला ६ मध्ये तीन खेलमा डकआउटको सिकार भए।