नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा भने जित निकाल्न सफल भयो।
यसअघि नेदरल्यान्ड्स र नामिबियाविरूद्धका सुरूआती खेलमा हार बेहोरेको नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८० रन जोड्यो। जवाफी ब्याटिङ गरेको नामिबियाले ७ विकेटको क्षतिमा १७७ रन बनायो।
अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दा नेपालले जित निकाल्यो। नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिँदा उनले १ विकेट लिँदा ८ रन खर्चिए। त्यसअघि करणले १५ औं ओभरमा २३ रन खर्चिंदा नेपालमाथि दबाब परेको थियो। तर अन्तिम ओभरमा उनै करणको बलिङका कारण नेपालले जित निकाल्यो।
‘मेरो र टिमका लागि अन्तिम ओभर थियो। मैले फसाएको खेल, मैले नै निकाल्नु पर्छ भन्ने लागेको थियो। बलिङका लागि आत्मविश्वासी पनि थिएँ। एउटा प्लान बनाएर बलिङ गरेँ। कप्तानले पनि समर्थन गरे,’ करणले अन्तिम ओभरबारे भने, ‘यो ओभर मेरो करिअरको लामो ओभर समेत भन्न मिल्छ। ओभरमा बलिङका लागि एक एक बलका लागि कुरा भएको थियो। रनिङ गर्दा कि योर्कर कि स्लो बल फाल्छु भन्ने सोचेको थिएँ।’
उनले आफूले खेलमा दबाब लिएर नखेलेको पनि बताए।
‘नराम्रो खेल्दा त्यसले दबाब त भइहाल्छ। अहिले नेपाली टिमको खराब समय चलिरहेको जस्तो लाग्छ। जुन दिन हाम्रो समय आउँछ, रेगुलर जित्छौं। टिमको रूपमा हामीले राम्रो गरिरहेका छौं। राम्रो खेल्दा पनि राम्रो गर्न सकिरहेका छैनौं। तर आजको जितले आत्मविश्वास दिएको छ,’ उनले भने।
खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। दीपेन्द्रले १६ औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौं विकेट लिए दीपेन्द्रले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए।
अर्को ओभरको पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो। त्यसअघि १५ औं ओभरमा करण केसीले २३ रन खर्चिंदा नेपालमाथि दबाब परेको थियो। तर दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरे।
१८ औं ओभरमा दीपेन्द्रले १८ रन खर्चिंदा फेरि नेपालमाथि दबाब बढ्यो। दीपेन्द्रलाई जान ग्रिनले दुई चौका र रुबेन ट्रम्प लम्यानले एक छक्का प्रहार गरे। १९ औं ओभरमा अभिनास बोहरालाई ट्रम्पलम्यान र ग्रिन मिलेर ११ रन प्रहार गरे। यो ओभरमा ग्रिनले दुई चौका हिर्काए।
अन्तिम ओभरमा ४ विकेट बचेको नामिबियालाई १२ रन चाहिएको थियो।
नेपालका लागि करण केसीले अन्तिम ओभर बलिङ गर्दा पहिलो बलमा एक रन दिए। दोस्रो बलमा पनि एक रन नै भयो। तेस्रो बल डट भयो। तर अर्को बल भने वाइड भयो। चौथो बलमा एक रन दिए। पाँचौं बलमा करणले ट्रम्पलम्यानलाई सन्दीप जोराबाट क्याच गराए। जसका कारण अन्तिम बलमा नामिबियालाई ८ रन चाहिएको थियो भने नेपाल जित नजिक पुगेको थियो। जसमा करणले अन्तिम बलमा चौका दिए पनि नेपालले रोमाञ्चक जित दिलाए।