त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याणड्सविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।
सिरिजको निर्णायक खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ।
हिजो नामिबियाविरूद्ध ओपनिङ गरेका अनिल साहलाई आजको खेलमा बेञ्चमा राखिएको छ।
उनको स्थानमा कुशल भूर्तेललाई प्लेइङ इलाभेनमा ल्याइएको छ। कुशल भूर्तेललाई नामिबियाविरूद्धको शुक्रबारको खेलमा बेञ्चमा राखिएको थियो।
आजको खेलमा कुशल भूर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, गुल्सन झा र दिपेन्द्रसिंह ऐरी खेल्नेछन्।
अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो।
हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले रोमाञ्चक जित हात पारेको थियो। नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएकोमा अन्तिम ओभरमा करण केसीले उत्कृष्ठ बलिङ गर्दा नेपाल ३ रनले विजयी भएको थियो।
आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ।
सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको समान २/२ अंक छ। नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा छ।
आजको खेल जित्न सक्दा नेपालको दुई अंक जोडिन्छ। नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्नेछ।