नेपाल त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ।
शनिबार त्रिवि मैदानमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो।
मंगलबार हुने फाइनल खेलका लागि नेपालको प्रतिद्वन्द्वी भोलि हुने नामिबिया र नेदरल्याण्ड्सबीचको खेलबाट टुंगो लाग्नेछ।
सिरिजको सुरूवाती दुई खेलमा पराजय भोगेको नेपालले नामिबियासँगको दोस्रो खेलबाट पुनरागमन गरेको हो। हिजो भएको खेलमा नेपाल ३ रनले विजयी भएको थियो।
आज नेदरल्याण्ड्सलाई सस्तोमा अलआउट गर्न प्रतिश जिसीको महत्वपूर्ण भूमिका रह्यो। उनले नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्स र म्याक्स ओ’डडलाई एकै ओभरमा बोल्ड आउट गरेका थिए। पछि तेजा निदामनुरूलाई पनि बोल्ड गरेर मध्यक्रमका ब्याट्सम्यानहरूलाई रन बनाउनबाट रोके।
तीन जना मध्यक्रमका ब्याटरलाई पेभेलियनको बाटो देखाएका प्रतिश म्यान अफ द म्याच बने।
कसिलो बलिङका कारण सस्तोमा समेटिएको नेदरल्याण्ड्समाथि सहज जित निकाल्न गुल्सन झाले महत्त्वपूर्ण पारी खेले।
दुई ओपनर सस्तोमै आउट भएपछि कप्तान रोहित पौडेलसँग गुल्सनले उत्कृष्ठ साझेदारी निभाए। उनले ३८ रन बनाउँदा कप्तान पौडेलले ४६ रन बनाएका थिए।
गुल्सनले पहिलो इनिङमा काइल क्लेनलाई रन आउट पनि गरेका थिए।
जितपछि पत्रकारहरूसँगको कुराकानीमा गुल्सनले आफू र कप्तान पौडेलबीच सामान्य खेल्ने सल्लाह भएको बताए।
‘म ब्याटिङ गर्न जाँदा मेरो र रोहित दाईबीच त्यही कुरा भएको थियो। सामान्य ढंगले खेल्ने, लुज बल हान्ने, रन बनाउने, दबाबमा नलिने भन्नुभएको थियो । हामीले त्यसरी नै खेल्यौं,’ उनले भने।
आजको खेलमा आफू कन्फिडेन्ट पनि भएको उनले बताए।
यद्यपि, खेल जिताएर फर्किने चाहना पूरा हुन नसकेको बताए।
‘रोल पहिल्यै तोकिएको थियो। कुनै शंका थिएन। बललाई फोकस गर्नुपर्छ भन्ने सोँचेको थिएँ। त्यो सट खेल्ने प्राक्टिस गरिरहेको थिएँ। त्यही ट्राइ गरेँ भएन,’ गुल्सनले भने।
उनले सबै खेलमा प्रदर्शन राम्रो नहुने पनि बताए। नराम्रो भएका बेलामा टिममा रहेका अन्य सदस्यहरूले प्रोत्साहन गर्ने र आफू त्यही अनुसारले मोटिभेट हुने गुल्सनको भनाइ थियो।
सिरिजमा पराजित भएको दुई खेलमा पनि टिमको प्रदर्शन फितलो नभएको गुल्सन बताउँछन्।
‘भलै नतिजा हाम्रो पक्षमा आएन। अब पछिल्लो दुई खेलमा नतिजा पनि हाम्रै पक्षमा आयो। यसलाई निरन्तरता दिएर फाइनल जित्नेतर्फ अग्रसर हुन्छौं,’ उनले भने।
म्यान अफ द म्याच बनेका प्रतिशले आज आफ्नो योजना अनुरूपकै बलिङ गरेको बताए। आफूले योजना बनाएअनुसारकै बलिङ भइरहेकाले खेलमा प्रेसरको अनुभव नभएको उनले बताए।
‘दुई तीन दिनदेखि आफ्नो प्लान जे थियो त्यसलाई एक्जिक्युट गरिरहेको थिएँ। विकेट आउँछ आउँदैन त्यो दोस्रो कुरा भयो। मेरो जुन प्लान थियो मैले जहाँ बल फाल्नु पर्ने हो त्यो भइरहेको थियो। त्यसकारण प्रेसर फिल भएन,’ उनले भने।
ग्राउन्ड सानो र विकेट पनि फ्ल्याट भएकाले एउटै स्पिडबाट फालियो भने नतिजा आउँदैन भन्ने लागेर फरक एंगल र फिल्डर जता छ त्यता फाल्छु भन्ने योजना रहेको उनले सुनाए।
‘सबै खेल नेल बाइटिङ नै थियो। फिनिसिङ लाइन मात्र क्रस गर्न नसकेको हो। यस्तो खेल हुँदै गयो भने जति प्रेसरको खेल विश्वकपभन्दा अगाडि खेल्न सक्छौं त्यति नै हामीलाई विश्वकपमा सजिलो हुन्छ,’ उनले भने।
यस्ता खेलले टिमको क्षमता अभिवृद्धि गर्नुका साथै र अपोनेन्टलाई चिन्न तथा अपोनेन्टले नेपाललाई चिन्ने मौका पाउने उनले बताए।
आजको खेल योजना अनुरूप नै चलेकाले पनि नतिजा सहज भएको उनले बताए। प्रतिशले आफू सबै खेलमा आत्मविश्वासी रहने बताए।