दाङ क्रिकेट लिग (डिसिएल)को दोस्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ।
लिगको फाइनल खेलमा ४५ रनले तुलसीपुर रोयल्सलाई पराजित गर्दै दंगाली लायन्सले उपाधि जितेको हो ।
घोराही क्रिकेट रंगशाला भएको फाइनल खेलमा दंगाली लायन्सले दिएको १०८ रनको लक्ष्य पछ्याएको तुलसीपुर रोयल्स १६ ओभरमा अल आउट हुँदै ६२ रनमा समेटिएको थियो।
त्यस क्रममा रुपेश सिंहले २० रन र अमरसिंह रौटेलाले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए । उनी ‘प्लेयर अफ द म्याच’ समेत घोषित भएका थिए।
त्यस्तै विपिन खत्री, बिरबहादुर घर्ती मगर, प्रकाश जैसीले समान २/२ विकेट लिँदा शंकर रानाले १ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।
खेलमा बिपिन खत्रीले सर्वाधिक ४५ रन, बसिर अहमदले २४ रन, अंकित बुढाले ११ रन जोडेका थिए।
बलिंङतर्फ तुलसीपुर रोयल्सका अमरसिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए।
तुलसीपुरका लागि रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नबिन बिकले समान १/१ विकेट लिएका थिए ।
जितसंगै दंगाली लायन्सले दुई लाख ५० हजार नगद पुरस्कार , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तुलसीपुर रोयल्सले नगद एक लाखसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ द सिरिज’ दंगाली लायन्सका बसिर अहमद, उत्कृस्ट ब्याटर सन्तोष कार्की, उत्कृस्ट बलर पुरन्धारा च्यालेन्जर्सका दिपेन्द्र रावत, उदीयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित भएका थिए ।
‘प्लेयर अफ द सिरिज’ घोषित हुने खेलाडीले १५ हजार , उत्कृस्ट ब्याटर, बलर तथा उदीयमान खेलाडीलाई समान १०/१० हजार पुरस्कार प्रदान गरिएको थियो ।
फागुनको १४ गतेदेखि १९ गतेसम्म घोराही उपमहानगरपालिका– १७ स्थित क्रिकेट मैदानमा भएको प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमको सहभागिता थियो।