आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र क्यानडाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टिम युएईले लगातार दोस्रो हार बेहोरेको छ।
आइतबार दुबईमा भएको खेलमा युएईलाई स्कटल्यान्डले ८ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको युएई ४५ ओभरमा १३२ रनमै अलआउट भएको थियो। युएईका लागि आयान खानले नटआउट ४५ रन जोड्दा बलिङमा स्कटल्यान्डका ब्राड्ली करीले ३ विकेट लिए।
१३३ रनको लक्ष्य स्कटल्यान्डले २ विकेट गुमाएर २३.४ ओभरमै पूरा गर्यो। स्कटल्यान्डका लागि चार्ली टियरले नटआउट ५४ रन जोडे।
यसअघि युएईले क्यानडासँग हार बेहोरेको थियो। पहिलो जित निकालेको स्कल्यान्डलाई पनि क्यानडाले नै हराएको थियो।
लिग-२ को दोस्रो सिरिज जारी रहदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ। नामिबियाले नेपालमा भएको त्रिकोणात्मक सिरिजमा तीन जित निकालेको थियो। ४-४ अंक जोडेका क्यानडा र नेदरल्यान्ड्स क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।
आजको जितसँगै स्कटल्यान्ड २ अंक जोडेर चौथो स्थानमा रहदा नेपाल पनि २ अंक जोडेर पाँचौं स्थानमा छ। नेपालले घरेलु मैदानमा खेलेको चार मध्ये तीन खेलमा पराजय भोगेको थियो। युएई अंकबिहीन हुँदै छैटौं स्थानमा रहदा ओमान र अमेरिकाले सिरिजको सुरुवाती खेल खेल्न बाँकी छ।