क्यानडा आइसिसी क्रिकेट विश्वकप लिग-२ को शीर्ष स्थानमा उक्लिएको छ।
लगातार तेस्रो जित निकालेपछि क्यानडा रनरेटमा नामिबियालाई पछि पार्दै शीर्ष स्थानमा पुग्न सफल भयो।
क्यानडा, युएई र स्कटल्यान्डबीच दुबईमा भइरहेको त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा क्यानडाले मंगलबार घरेलु टिम युएईलाई डिएलएस मेथडमा ८ रनले पराजित गर्यो।
वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले ४९.४ बलमा ६ विकेटको क्षतिमा २४१ रन जोडेको थियो। २ बल खेल्न बाँकी छदा खेल वर्षाले रोकिएको थियो।
क्यानडाका लागि हर्ष थाकेरले नटआउट १११ रन बनाएका थिए।
बलिङमा युएईका जुनइद सिद्धिकी र आयान खानले २-२ विकेट लिए।
त्यसपछि ४६ ओभरमा २३७ रनको लक्ष्य पाएको युएईले ८ विकेटको क्षतिमा २२८ रन मात्र जोड्न सक्यो। युएईका लागि वृत्य अरविन्दले ५१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा क्यानडाका डिलोन हेलिगरले ४ विकेट लिए।
लिग-२ मा ६ अंक जोडेर शीर्ष स्थानमा क्यानडा रहदा नेपालमा भएको सिरिजमा ३ खेलमा जित निकालेको नामिबियाको पनि ६ अंक छ।
नेदरल्यान्ड्स ४ अंकसहित तेस्रो स्थान र २ अंक जोडेको स्कटल्यान्ड चौथो स्थानमा छ। पाँचौं स्थानको नेपालको २ अंक छ भने छैटौं स्थानको युएईले लगातार तीन खेलमा हार बेहोरिसकेको छ। ओमान र अमेरिकाले लिग-२ का खेल खेल्न बाँकी छ।