नेपालले १० वर्षपछि आइसिसी मेन्स टी-२० विश्वकप खेल्दैछ। गत कात्तिकमा भएको छनोटमार्फत नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने २०२४ आइसिसी मेन्स टी-२० विश्वकपमा स्थान बनाएको थियो।
मुलपानी मैदानमा युएईलाई सेमिफाइनलमा हराएसँगै नेपालले सन् २०१४ पछि विश्वकपमा स्थान पक्का गरेको थियो।
विश्वकपमा स्थान पक्का गरेसँगै नेपालले त्यसको तयारी थालिसकेको छ। विश्वकप तयारीका लागि नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० त्रिकोणात्मक सिरिज खेलेको थियो।
त्यसअघि आइसिसी लिग-२ मा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगै एकदिवसीय सिरिज खेलेको थियो। लिग-२ अघि नेपाल र नेपालको ‘ए’ टिमले क्यानडासँग सिरिज खेलेको थियो।
विश्वकपकै तयारीस्वरूप नेपाली टिम यसैसाता हङकङ जाँदैछ। हङकङमा नेपालले फ्रेन्डसिप म्याच र त्रिकोणात्मक सिरिज खेल्नेछ। मार्च ९ देखि १३ सम्म हुने सिरिजमा नेपालले हङकङ र पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ। हङकङमा नेपालले कम्तिमा ३ र बढीमा ४ टी-२० खेल खेल्नेछ।
त्यसपछि घरेलु मैदानमा आयरल्यान्ड्स ‘ए’ सँग नेपालको ‘ए’ टिम र सिनियर टिमले कुल ८ खेल खेल्नेछन्। मार्च २४ देखि अप्रिल ७ सम्म घरेलु मैदानमा आयरल्यान्ड्ससँग खेलेपछि नेपाली टिम भारत जानेछ।
त्यहाँ नेपालले रणजी टिमद्वय गुजरात र बरोडासँग टी-२० सिरिज खेल्नेछ। भारतमा नेपालले कम्तिमा ४ र बढीमा ५ टी-२० खेल खेल्नेछ। भारतमा मार्च ३१ देखि अप्रिल ७ सम्म सिरिज हुनेछ।
भारतमा खेलेपछि नेपाली टिमले ओमानमा हुने टी-२० फर्म्याटको एसिसी प्रिमियर कप खेल्ने तालिका छ। प्रिमियर कपमा नेपालले कम्तिमा ४ र बढीमा ६ टी-२० खेल खेल्नेछ। अप्रिल १२ मा सुरु हुने प्रिमियर कपको फाइनल २१ फाइनल खेल हुनेछ। यसरी नेपालको सिनियर र ए टिमले विश्वकपअघि कम्तिमा १९ र बढीमा २३ खेल खेल्ने कार्यक्रम छ।
प्रिमियर कपबाहेक अरु सबै सिरिजको खर्च नेपाल क्रिकेट संघ (क्यान) ले बेहोर्नेछ। विश्वकप तयारीको स्वरुप हुन लागेका यी सिरिजमा नेपालको तयारीको खर्च क्यानलाई नेपाल सरकारले दिएको छ।
बुधबार राष्ट्रिय खेलकुद परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बाचाअनुसार अर्थमन्त्रालयमबाट ५ करोड रुपैयाँ निकास भएको सार्वजनिक गरेको थियो।
सुरूमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विश्वकप तयारीका लागि प्रस्ताव ल्याउन नेपाल क्रिकेट संघलाई भनेपछि क्यानले प्रस्ताव पेश गरेको थियो।
विश्वकप तयारीका लागि ५ करोडको प्रस्ताव पेश गर्दा सबै पास भएको खबर राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त भएको क्यानका सचिव पारस खड्काले बताए।
‘हामीले विश्वकपका लागि चार-पाँच महिनाको तयारीका लागि खर्च हुने बजेटको प्रपोजल पेश गरेका थियौं,’ खड्काले भने, ‘हाम्रो प्रपोजल सबै पास भएको खबर राष्ट्रिय खेलकुद परिषदबाट आएको छ।
सचिव खड्काले सरकारले दिएको रकम टी-२० विश्वकपअघि विभिन्न टिमसँग सिरिज खेल्दा खर्च हुने बताए।
‘नेपालमा आयरल्यान्डको ‘ए’ टिम खेल्न आइरहेको छ। यसअघि क्यानडासँग पनि हामीले सिरिज खेल्यौं। लिग-२ पछि त्रिकोणात्मक टी-२० सिरिज आयोजना गर्यौं। यी सबै प्रतियोगितामा खर्च भएको छ,’ सचिव खड्काले भने, ‘हामी भारतको गुजरातमा पनि जाँदैछौं। यी सिरिजमा हुने खर्च सरकारले दिएको रकमबाट हुन्छ।’
उनले विश्वकप सुरु हुनुभन्दा करिब एक महिनाअघि अमेरिका जाने पनि बताए। साथै विश्वकपका लागि विभिन्न विशेषज्ञ पनि नियुक्त गर्ने उनको भनाइ छ।
‘विश्वकपको तयारीका लागि हामीले विभिन्न विशेषज्ञ नियुक्त गरेका छौं। सायद अरु विशेषज्ञ पनि छिट्टै नियुक्त गर्छौं। बलिङ र फिल्डिङ कन्सल्ट्यान्ट पनि हामी चाडै नै घोषणा गर्छौं,’ सचिव खड्काले भने,'धेरै बजेट अमेरिकामा एक महिना अघि पुगेर तयारी गर्दा खर्च हुन्छ। किनभने त्यहाँ महँगो नै छ।’
टी-२० विश्वकपमा नेपाल समूह 'डी' छ। समूहमा नेपालले बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालका खेल
नेदरल्यान्डसविरूद्ध - जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध - जुन ११ - अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध - जुन १४ - सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध - जुन १६- सेन्ट भिसेन्ट
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपाल रहेको समूहका खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल