आइसिसी क्रिकेट विश्वकप लिग-२ मा क्यानडाले लगातार चौथो जित निकालेको छ।
दुबईमा क्यानडा, स्कटल्यान्ड र युएईबीच सिरिजको सबै चारै खेलमा जित निकाल्ने क्रममा क्यानडाले बिहीबार स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा ५ विकेटको जित निकाल्यो। यसअघि क्यानडाले घरेलु टिम युएईलाई पनि दुवै खेलमा पराजित गरेको थियो।
लिग-२ को अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानडाले बिहीबार स्कटल्यान्डले दिएको १९८ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४५.३ ओभरमै पूरा गर्यो।
क्यानडाका लागि हर्ष थाकेरले नटआउट १०५ रन जोडे। लगातार दोस्रो शतक प्रहार गरेका उनले १५० बलमा ८ चौका र १ छक्का प्रहार गरे।
सुरुवातमै चार विकेट गुमाए पनि हर्ष र निकोलास किर्टनबीच पाँचौ विकेटका लागि १०९ रनको साझेदारी भएको थियो। निकोलासले ४४ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४७.३ ओभरमा १९७ रनमा अलआउट भयो।
उसका लागि ओपनर जर्न मुन्सीले सर्वाधिक ३६ रन जोडे। बलिङमा क्यानडाका हर्षले ३ विकेट लिँदा अमर खालिद र साद बिन जफरले २-२ विकेट लिए।