रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण भएको छ।
गैर-आवासीय नेपाली विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन्। उनले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरी खेल सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन्।
गत जेठ ३० गते शिलान्याय गरिएको उक्त रंगशालामा लेजेण्ड्स क्रिकेट कप आयोजना गर्न लागेको निर्देशक कुँवरले जानकारी दिए।
श्रीमती सदिक्षासहित अष्ट्रेलियामा बस्दै आएका कुँवरले तिलोत्तमा नगरपालिका वडा नं १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरेका हुन्। रंगशाला खेल्न तयार भएपनि अझै भौतिक निर्माण बाँकी रहेको कुँवरले बताए।
‘मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ, प्यारापिट बनाउने काम सुरू भइसकेको छ। यसका लागि करिब १८ करोड खर्च हुनेछ,’ उनले भने।
अष्ट्रेलियामा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट उक्त रंगशाला निर्माण गरेका हुन्। रंगशालाको स्थायित्वको लागि गुरूयोजना बनाइसकेको र निर्माण सम्पन्न भएपछि व्यवसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने उनले बताए।
‘नेपालमा रंगशाला कम छन् तर क्रिकेटको क्रेज बढ्दैछ, त्यसमाथि मैले व्यवसायिक तरिकाले योजना बनाएको छु, त्यहीअनुसार लगानी गरेको हो, म मेरो योजनामा ढुक्क छु, यसलाई पूर्ण सञ्चालनमा ल्याउँछु, यो मेरो संकल्प हो,’ उनले भने।
मैदान उद्घाटनको दिन ४ टोलीबीच लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुने कार्यक्रम छ। प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेण्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउने उनले बताए।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन्। सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्दा रेस्ट अफ नेपालको टिमलाई कलाम अली तथा रुपन्देही लेजेण्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नेछन्। नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बासडर छन्।
यो क्रिकेट रंगशाला होस्टल सहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ। उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिइएको छ। रंगशाला कम्पाउन्डमा एकेडेमीको चार तले भवन बन्नेछ, जसमा १०० जनालाई आवासीय प्रशिक्षण दिइने बताइएको छ।
कुँवरका अनुसार यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन्। करिब २५ हजार दर्शक क्षमताको रंगशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ।
रुपन्देही आफैंमा क्रिकेटका लागि चिनिएको जिल्ला हो। यहाँ धेरै राष्ट्रिय खेलाडी जन्मिएका छन्। राजु खड्का, शक्ति गौचन, बसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा रुपन्देही जिल्लाकै उत्पादन हुन्। यो रंगशालाले रूपन्देहीबाट थप खेलाडी तयार हुने विश्वास क्रिकेटप्रेमीहरूले लिएका छन्।