रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक क्रिकेट रंगशालामा सम्पन्न तिलोत्तमा लेजेण्ड्स कप क्रिकेटको उपाधि सन् २०१४ को टिमले जितेको छ।
तिलोत्तमा नगरपालिका वडा नं. १७ दरखसवामा निर्मित रंगशालाको उद्घाटनको अवसरमा सोमबार लेजेण्ड्स कप क्रिकेट आयोजना गरिएको हो।
एक्स्ट्राटेक ओभल प्रालिले आयोजना गरेको उक्त खेलमा पारस खड्काले नेतृत्व गरेको सन् २०१४ को टिमले रेष्ट अफ नेपाललाई हराउँदै उपाधि जितेको हो।
फाइनल खेलमा पारसको टिमले रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो।
टी ट्वाण्टी विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेष्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनायो।
रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १८ र सीता रानामगरले १२ रन बनाए। बलिङमा टी-२० विश्वकप टोलीका स्यामसुङ जङ थापाले ४, शक्ति गौचन र बद्री पंगेनीले २/२ विकेट लिए।
पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो। त्यसका लागि पारस खड्काले विस्फोटक इनिङ खेल्दै रेस्ट अफ नेपालविरूद्ध १२ बलमा ३९ रन बनाउन सफल भए। त्यस्तै वीरेन्द्र शाहले २९ र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए।
बलिङमा रेस्ट अफ नेपालका लाक्पा लामाले ४, राजकुमार प्रधान र दीपेन्द्र चौधरीले एकएक विकेट लिए।
खेलमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी ट्वाण्टी विश्वकप खेलेको टोली, रूपन्देही लेजेण्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाएका थिए।