मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब विजयी भएका छन्।
विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो। बागमतीका लागि शुभ कन्साकारले ३४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ४१ तथा रविन जोशीले ३१ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन तथा नरेन साउदले दुई विकेट लिए।
एक सय सय १८ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १९ दशमलव दुई ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि नरेन भट्टले ३०, दीपक बोहोराले २२, किरण ठगुन्नाले २१ तथा नारायण जोशीले १६ रनको योगदान दिए । बलिङतर्फ बागमतीका गौतम केसीले तीन तथा विपिन आचार्य र इशान पाण्डेले दुई दुई विकेट लिए।
जितसँगै सुदूरपश्चिम समूह ‘बी’ मा चार खेलमध्ये तीनमा जित र एकमा पराजित हुँदै ६ अङ्कका साथ अङ्कतालिकाको दोस्रोे स्थानमा उक्लिेको छ । बागमती भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले बाँकी दुई खेल जिते पनि समूह चरणबाटै बाहिरिने छ । सुदूरपश्चिम सेमिफाइनल नजिक पुगेको छ ।
आज भएको दोस्रो खेलमा एपिएफ क्लबले घरेलु टोली कोशी प्रदेशलाई चार विकेटले पराजित गर्यो। पराजित भएसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । कोशीका लागि सोनु अन्सारीले ४३, अङ्कित सुवेदीले ३२ र श्रवण यादवले १९ रन बनाए । बलिङतर्फ एपिएफ क्लबका भुवन कार्की, यज्ञमान कुमाल, अमर रौटेला र इर्साद अहमदले दुई दुई विकेट लिए ।
एक सय १८ रनको लक्ष्य एपिएफ क्लबले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि पुरन विकले ३६, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । बलिङतर्फ मधेसका फिर्दोस अन्सारीले तीन र दीपेश कँडेलले एक विकेट लिए । समूह ‘ए’ मा तीन खेलमा एकमा जित र दुईमा पराजित कोशी दुई अङ्कका साथ तेस्रो स्थानमा छ । कोशीले अब लिगको अन्तिम खेल मङ्गलबार आर्मीसँग खेल्ने छ । दुई खेलमध्ये एकमा जित र एकमा पराजित भएको एपिएफ क्लब दुई अङ्कका साथ चौथो स्थानमा छ ।
मङ्गलबार पहिलो खेल कोशी प्रदेश र आर्मी क्लबबीच तथा दोस्रो खेल बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महम्मद साद बाबु कुरैसीले जानकारी दिए ।