भारतीय राज्यस्तरीय टोली गुजरातका ओपनिङ ब्याट्सम्यान उर्विल पटेलले टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने भारतीय कीर्तिमान बनाएका छन्।
बुधबार त्रिपुराविरुद्ध खेलिएको सैयद मुश्ताक अली ट्रफीमा उनले २८ बलमा शतक बनाए। उनले ३५ बलमा ४ चौका र १२ छक्का प्रहार गर्दै नटआउट ११३ रन बनाएका थिए।
उनको इनिङ्सका कारण गुजरातले त्रिपुराविरुद्ध १०.२ ओभरमा १५६ रनको लक्ष्य हासिल गरेको थियो।
उर्भिल अहिले टी–२० ढाँचामा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान बनेका छन्। यसबाहेक यो विश्वको दोस्रो सबैभन्दा छिटो टी-२० शतक समेत हो।
टी–२० मा सबैभन्दा छिटो शतकको कीर्तिमान इस्टोनियाका साहिल चौहानको नाममा छ। उनले यसै वर्ष जुनमा साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए।
टी-२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय रेकर्ड अहिलेसम्म ऋषभ पन्तको नाममा थियो। पन्तले जनवरी २०१८ मा हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए।
गत वर्ष नोभेम्बरमा २७ वर्षीय उर्भिलले ४१ बलमा लिस्ट ए सेन्चुरी बनाएका थिए, जुन भारतीय ब्याट्सम्यानको दोस्रो छिटो लिस्ट ए शतक थियो।
लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने भारतीय कीर्तिमान युसुफ पठानको नाममा छ, उनले ४० बलमा यो उपलब्धि हासिल गरेका थिए।
उर्भिल आइपिएल २०२३ मा गुजरात टाइटन्समा आबद्ध थिए। गुजरातले उनलाई २०२४ मा रिलिज गरेको थियो। उनको नाम आइपिएल २०२५ को अक्सन सूचीमा पनि थियो तर उनलाई कुनै पनि टोलीले बोली लगाएनन्।