सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिबारदेखि सुरू हुँदैछ।
आठ टोलीबीच प्रतिस्पर्धा हुने एनपिएलको उद्घाटन खेलमा शनिबार मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले एनपिएललाई लिएर आफू उत्साहित भएको बताए। यसअघि विश्वका विभिन्न लिग खेल्दा आफ्नो देशको पनि फ्रेञ्चाइज लिग भइदिओस् जस्तो लाग्ने गरेको बताउँदै उनले भने, ‘अहिले एनपिएल मेरो लागि सपना पूरा भएको जस्तै भएको छ।यसअघि अरू देशको लिगमा सँगै खेलेका खेलाडीहरु नेपाल आएर हाम्रो लिग खेल्दैछन्, उत्साहित छु।’
लामिछानेले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुरा गर्दै एनपिएलले तीन-चार वर्षमा आफ्नो उचाइ स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले शनिबार जनकपुरविरूद्धको खेलमा जितका लागि मैदान उत्रने समेत बताए।
जनपुरका कप्तान अनिलकुमार साहले जनकपुरमा अभ्यास गर्न नपाए पनि काठमाडौंमा आएर अभ्यास गरेको बताए।
विदेशी खेलाडीको आगमनले टोली सन्तुलित बनेको उनको भनाइ थियो। साथै अहिले एनपिएलको चर्चा चारै तिर बढेको बताउँदै आफू उत्साहित बनेको अनिलले बताए। शनिबार विराटनगरविरुद्धको खेलको विषयमा टिप्पणी नगर्ने बताउँदै उनले भने, ‘खेललाई लिएर धेरै भन्दिन, भोलि मैदानमा देखिहाल्नुहुन्छ।’
चितवन राइनोजका कप्तान कुशल मल्लले एनपिएलका लागि चितवनमा तयारी गरेको बताउँदै उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे।
काठमाडौं गुर्खाजका कप्तान करण केसीले नेपालका युवा खेलाडीका लागि एनपिएल क्षमता देखाउने राम्रो स्थान हुने बताए। राष्ट्रिय खेलाडीका लागि पनि प्रतियोगिता अवसर भएको करणको भनाइ थियो।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पोखरामा अभ्यास गरेर काठमाडौं फर्किएको बताए। भारतीय प्रशिक्षकका कारण टोलीलाई निकै फाइदा पुगेको कुशलको भनाइ छ। पोखराको प्रशिक्षकमा भारतका राजीव कुमार छन्। कुशलले पनि प्रतियोगितालाई लिएर आफू उत्साहित भएको भनाइ राखे।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडैलले प्रतियोगिता लिएर आफू निकै उत्साहित रहेको बताए। उनले आइपिएलले भारतीय क्रिकेट उचाइमा पुर्याउन सहयोग गरेको जस्तै एनपिएलले पनि नेपाली क्रिकेटको स्तर बढाउने सहयोग मिल्ने विश्वास व्यक्त गरे।
कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोहितको भनाइसँग सहमति जनाउँदै एनपिएलबाट नेपाली टोलीका लागि खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे। उनले आफ्नो टोलीमा नेपालका युवा खेलाडी भएको र विदेशका अनुभवी खेलाडी भएको बताए। युवा तथा अनुभवी खेलाडीको समिश्रणले आफ्नो टोली सन्तुलित भएको उनको भनाइ छ।
यस्तै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले मुलपानीमा अभ्यास खेल खेलेको बताउँदै आफ्नो टोली एनपिएलका लागि तयार भएको बताए। उनले अरु कप्तान जस्तै एनपिएलका कारण आफू उत्साहित बनेको भनाइ राखे।