भारतीय क्रिकेटर शिखर धवन पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।
उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। उनी एनपिएल टोली कर्णाली याक्समा आबद्ध छन्। उनलाई कर्णालीले एक खेलको ३० हजार अमेरिकी डलरमा नेपाल भित्र्याएको हो। उनले कम्तिमा पनि चार खेल खेल्ने बताइएको छ।
‘नेपालमा पहिलो पटक आएको छु। धेरै खुसी लागेको छ। कर्णाली याक्स र नेपालका स्थानीय खेलाडीसँग उत्साहित छु,’ उनले भने खेलबाहेक नेपालको प्रसिद्ध स्थान घुम्ने बताउँदै भने ‘पशुपतिनाथको दर्शन गर्न पनि जानेछु।’
उनले नेपाली क्रिकेटको बारेमा धेरै जानकारी नभए पनि सन्दीप लामिछानेका साथ खेलेको स्मरण गरे। अब एनपिएल खेलेपछि नेपाली खेलाडीबारे जानकारी हुने पनि उनले बताए।
नेपालसँगआफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपिएल खेल्न आफू तयार भएको उनको भनाइ छ।
उनले एनपिएलमा राम्रा अन्तर्राष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम सेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे।
उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहेको उल्लेख गर्दै सबै टिकट विक्री हुनुले पनि यहाँको क्रिकेट अवस्थाबारे दर्शाउने बताए।
अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ।
शिखरले गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। संन्यास लिएका खेलाडीलाई मात्र विदेशी लिग खेल्न भारतीय क्रिकेट नियन्त्रण बोर्ड अनुमति दिन्छ। त्यहिँ प्रावधानअनुसार उनी नेपाल आएका हुन्।