पहिलो पटक ब्लाइण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको नेपाल फाइनल भने पुग्न सकेन।
घरेलु टोली पाकिस्तानसँग आइतबार १० विकेटले पराजित भएसँगै फाइनल पुग्ने नेपालको सपना पूरा भएन।
पहिले ब्याटिङ गरेको नेपालले ९४ रन मात्र बनायो। नेपालका लागि दुर्गादत्त पौडेलले ४० रन बनाए पनि अरु ब्याटर सस्तैमा आउट भए।
९५ रनको लक्ष्य पाकिस्तानले कुनै पनि विकेट नगुमाइ पूरा गर्यो।
पाकिस्तानमा जारी ब्लाइण्ड विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको थियो।
यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो। लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो।
नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।
प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् । ब्लाइण्ड विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन।