एसिसी यू-१९ एसिया कपमा नेपालले दोस्रो हार ब्यहोरेको छ।
आइतबार दुबईमा भएको समूह ‘बी’ को खेलमा नेपालले बंगलादेशसँग ५ विकेटको हार ब्यहोरेको हो। यसअघि नेपालले पहिलो खेलमा श्रीलंकासँग पराजय भोगेको थियो। लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ।
आइतबार नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले ५ विकेको क्षतिमा २८.४ ओभरमा पूरा गर्यो।
बंगलादेशका लागि ओपनर जावद अबरारले ५९ रन जोड्दा कप्तान हमिम तमिमले नटआउट ५२ रन बनाए।
बलिङमा नेपालका युवराज खत्रीले ४ विकेट लिए। उनले ६ ओभरमा १ मेडन राख्दा २३ रन दिए।
त्यसअघि टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमा अलआउट भयो।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले ४३ रन बनाउँदा उत्तम थापा र अभिषेक तिवारीले २९-२९ रन जोडे। नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा बंगलादेशका अल फहद, हसन इमोन र रिजन हसनले २-२ विकेट लिए।
अब नेपालले तेस्रो खेलमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ।