नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार दुई खेलमा जित निकालेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो। यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटकै जित निकालेको थियो।
कीर्तिपुरस्थित मैदानको मर्मत गरिएको नयाँ पिचमा अरू टोलीले ब्याटिङका लागि संघर्ष गरिरहँदा जनकपुरले भने सहज रूपमा ब्याटिङ गरिरहेको छ।
दुवै खेलमा जित निकाल्दा लक्ष्य पछ्याएको उसले दुई-दुई विकेट मात्र गुमायो।
जनकपुरका प्रशिक्षक पुबुदु दासानायकेले मैदानको विश्लेषण गरेर खेलका लागि तयारी गरेको बताए।
‘हामी मैदानमा ब्याटिङका लागि गर्नुपर्ने सबै कुराका लागि सचेत थियौं। तीन खेलको विश्लेषण गर्दा घरेलु खेलाडीले पिचबारे बुझेको देखिनँ। आज कर्णालीका गुल्सन र सोमपालले पनि राम्रो ब्याटिङ गरे,’ लगातार दुई खेलमा राम्रो ब्याटिङको कारण खुलाउँदै पुबुदुले भने, ‘हाम्रो टोलीमा अनिल साह र आसिफ शेख जस्ता ब्याटर हुँदा भाग्यशाली महसुस गरिरहेका छौं। उनीहरू यहाँका सबै बलरबारे जानकार छन्।’
उनले आफ्नो टोली ‘रिल्याक्स’ रहेको र योजनाअनुसार अघि बढ्न सफल भएको बताए।
‘हाम्रो क्याम्प रिल्याक्स छ। हामी योजना बनाएर त्यसलाई मैदान लागू गर्ने कुरामा सचेत छौं। हामीले दुई खेलमा त्यस्तै गर्यौं। अब बाँकी दुई खेलमा पनि तयार छौं,’ नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदुले भने।
उनले आफ्नो टोलीको तल्लो क्रमको ब्याटिङमा अझै समस्या रहेको उल्लेख गरे।
साथै उनले जिमी निशमसहित सबै खेलाडीका लागि आफूले छुट्टै योजना बनाएको बताए।
यू-१९ टोलीबाट एसिया कप खेल्न युएईमा रहेका हेमन्त धामी र आकास त्रिपाठी टोलीमा फर्किएपछि उनीहरूलाई खेलअनुसार मौका दिने पनि पुबुदुले बताए।