अघिल्लो साता बुधबार साँझ विराटनगरमा एउटा संक्षिप्त औपचारिक कार्यक्रम आयोजना भइरहेको थियो। क्रिकेटरहरूको बाक्लो जमघटयुक्त कार्यक्रममा सहभागीहरू कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रतिक्षामा थिए।
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल खेल्न बिहीबार काठमाडौं जान लागेको विराटनगर किंग्सलाई बिदाइ गर्ने कार्यक्रमका लागि मुख्यमन्त्री कार्की आइपुगे।
कार्यक्रममा उनले खेलाडीहरूलाई शुभकामना मात्रै दिएनन्, एनपिएलको उपाधि जितेर आए विराटनगर किंग्सलाई प्रदेश सरकारले ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरिदिए।
मुख्यमन्त्रीको यस्तो घोषणालाई विराटनगर किंग्सका साझेदार तथा खेलाडीहरूले तालीले स्वागत गरेका थिए। मंसिर १२ को साँझ मुख्यमन्त्रीले विराटनगरमा यस्तो घोषणा गर्नुभन्दा केही घन्टा अघि मात्रै काठमाडौंमा नेपाली सेनाले नेपाल क्रिकेट संघ (क्यान) लाई एउटा पत्र प्रेषित गरेको थियो।
स्वदेश तथा विदेशका दर्जनौं खेलाडीलाई टियु क्रिकेट मैदानमा एनपिएल खेलाउने अन्तिम तयारीमा रहेको क्यानलाई बुझाएको पत्रमा नेपाली सेनाको प्रष्ट आग्रह थियो ‘अघिल्लो वर्ष कोशी प्रदेशको राजधानी विराटनगरमा भएको क्रिकेट प्रतियोगिता जिते बापत दिने भनिएको नगद पुरस्कार ५ लाख अहिलेसम्म पाउन सकिएन। त्यो पुरस्कार रकम दिलाइदिन पहलका लागि क्यानसँग अनुरोध छ।’
नेपाली सेनाको कार्य-प्रबन्ध अधिकृत सेनानी हरिशबहादुर चन्दले क्यानलाई यस्तो पत्र लेखे पनि उक्त प्रतियोगिताको मुख्य आयोजक क्यान थिएन।
बरू कोशी प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न ४० लाख रुपैयाँ दिने बचन दिएपछि क्रिकेट संघ मोरङ अघि बढेको थियो। सात वटै प्रदेश र तीन वटा विभागीयसहित १० टिम सहभागी प्रतियोगिता २०८० फागुन २२ देखि चैत ६ सम्म विराटनगर–१९ को वैजनाथपुर रंगशालामा सम्पन्न भएको थियो।
प्रतियोगिताको फाइनलमा कर्णाली प्रदेशलाई पराजित गर्दै नेपाली सेनाको टिमले उपाधि जितेको थियो। सेनाले उपाधि जितेको ८ महिना पूरा भयो। तर, अहिलेसम्म पनि उसले प्रतियोगिता विजेताले पाउने नगद पुरस्कार पाएको छैन। बरू क्रिकेट संघ मोरङलाई दर्जनौं पटक गरेको आग्रहले काम नगरेपछि सेनाले क्यानलाई सोझै गुहारेको पत्रमा देखिन्छ।
नेपाली सेनाले पुरस्कार रकम पाऊँ भन्दै क्यानलाई लेखेको पत्रमा आयोजकले पुरस्कार रकम दिन पहल र चासो नदिएको उल्लेख गरेको छ।
‘प्रथम हुने बिजेता टिमलाई घोषणा गरे अनुसार उपलब्ध हुने नगद पुरस्कार रकम ५ लाख रुपैयाँ हालसम्म पनि उपलब्ध नभएको र उपलब्ध गराउन पटक-पटक आयोजकसँग समन्वय गर्दासमेत उपलब्ध नगराएको,’ भन्दै सेनाले पत्रमा भनेको छ, ‘यसरी संचालन हुने विभिन्न प्रतियोगिताहरूमा आयोजकहरूले पुरस्कार रकमहरू समयमै उपलब्ध नगराउने प्रवृत्तिले गर्दा खेलाडीहरूको हौसलाका साथै खेल प्रदर्शनमा समेत ह्रास आउने र प्रतियोगिताको समेत सार्थकता नदेखिने तथा यस किसिमको प्रवृत्तिले राष्ट्रका खेलाडीहरूमा समेत प्रत्यक्ष रुपमा असर पर्ने कुरालाई दृष्टिगत गरी सो रकम उपलब्ध गराउने सम्बन्धमा आवश्यक पहल गरिदिनु हुन अनुरोध गरिन्छ।’
प्रतियोगिताको मुख्य आयोजक क्रिकेट संघ मोरङले भने कोशी प्रदेश सरकारले दिन्छु भनेको रकम नदिएका कारण विजेता टिमलाई पुरस्कार दिन नसकिएको बताएको छ। पुरस्कार मात्रै होइन प्रतियोगिताका दौरानमा खेलाडी तथा अफिसियलहरूको होटल खर्चसमेत अहिलेसम्म तिर्न नसकेको संघको भनाइ छ।
‘क्रिकेटको विकासका लागि भनेर हामीले प्रादेशिक तथा विभागीय टिमहरू सहभागी गरेर प्रतियोगिता गरेका थियौं, त्यसका लागि प्रदेश सरकारले पूरापूर साथ दिने प्रतिबद्धता जनाएको थियो,’ क्रिकेट संघ मोरङका सचिव अशोक रेग्मीले भने, ‘प्रदेश सरकारले प्रतियोगिताका लागि ४० लाख दिने भनेको थियो। तर, जम्मा २० लाख मात्रै दियो।’
तत्कालीन मुख्यमन्त्री केदार कार्की र मन्त्रिपरिषदले नै प्रतिबद्धता जनाएको रकमको आधा मात्रै पाउँदा पुरस्कार र अन्य दायित्व फछ्र्यौट गर्न नसकिएको क्रिकेट संघ मोरङको भनाइ छ।
‘प्रतियोगिताको कूल बजेट ७० लाखको थियो। स्पोन्सरहरूबाट १०-१२ लाख उठ्यो,’ सचिव रेग्मीले भने, ‘प्रदेश सरकारले २० लाख र विराटनगर महानगरले ५ लाख अहिलेसम्म दिएनन्। यसले विजेता टिमलाई पुरस्कारवापतको रकम दिन सकिएन।’
सचिव रेग्मीका अनुसार तत्कालीन मुख्यमन्त्री केदार कार्कीले प्रतियोगितालाई सरकारले ४० लाख रुपैयाँ दिने, निर्धक्क भएर प्रतियोगिता गर्न भनेर हौस्याएका थिए। तर, उनको कार्यकालमा २० लाख मात्रै निकासा भएको छ। बाँकी २० लाख रोकिएको रोकियै छ।
‘अहिलेका मुख्यमन्त्रीलाई हामीले भेटेर रकम माग गरेका छौं,’ सचिव रेग्मीले भने, ‘तर, पहल भइरहेको छ भन्नुहुन्छ। रकम आएको छैन, तत्कालै आउने छाँट पनि छैन।’
महानगरले दिने भनेको पैसा पनि हात नपरेको अहिलेको अवस्थामा प्रतियोगिताको विजेता टिमले पुरस्कार पाउने सम्भावना कम रहेको उनको भनाइ छ।
सरकारले दिने भनेको त्यही रकम दिन आनाकानी गरेको भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले तत्कालीन सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई धम्क्याएको आरोपसमेत लागेको थियो।
हालका मुख्यमन्त्री हिक्मत कार्कीले एनपिएल टिम विराटनगर किंग्सले प्रतियोगिता जिते ३० दिने घोषणा गरेको, तर क्रिकेट विकासका लागि लामो समयदेखि लागिरहेका जिल्ला र प्रदेशस्थित क्रिकेट संयन्त्रलाई भने दिने भनेको रकम पनि नदिएको भन्दै क्रिकेट संघले गुनासो गरेको छ।
यसरी फ्रेञ्चाइज टिमलाई राज्यकोषबाट ३० लाख दिने घोषणा गरेका मुख्यमन्त्रीले क्रिकेट संघले आयोजना गरेको प्रतियोगितालाई सरकारले दिने भनेको रकम दिन भने रूचि नदेखाउँदा सरकारी शैलीले दिक्क लगाएको क्रिकेटका पदाधिकारीहरू बताउँछन्।
‘सरकार भनेको अविछिन्न उत्तराधिकारीवाला संस्था हो, अघिल्लो सरकारले दिने भनेको खेलकुदको बजेट उहाँले दिनुपर्छ,’ क्रिकेट संघ कोशीका एक पदाधिकारीले भने, ‘फ्रेञ्चाइज टिमलाई ३० लाख दिन्छु भन्ने मुख्यमन्त्रीले आफ्नै प्रदेशमा आयोजना भएको राष्ट्रिय प्रतियोगिताका विजेताले ५ लाख नपाएको गुनासो सुनिरहन कसरी सकेको?’
सरकारले क्रिकेट संघलाई दिने प्रतिबद्धता जनाएको रकम उपलब्ध गराउनु पर्ने ती पदाधिकारीको भनाइ छ।
त्यसो त क्रिकेट संघका जिल्ला र प्रदेश तहका पदाधिकारीहरूले मुख्यमन्त्रीको घोषणालाई निको मानेका छैनन्।
‘एनपिएल ठूलो प्रतियोगिता हो, यसले देशको क्रिकेटलाई राम्रो गर्नेमा शंका छैन,’ क्रिकेट संघ कोशीका अध्यक्ष सर्वजित पाण्डेले भने, ‘तर, विराटनगर किंग्स निजी क्लब हो। क्रिकेट संघ राज्यको एउटा अंग हो। आफ्नै खेल अंगलाई सरकारी तहबाट बेवास्ता हुनुहुँदैन। यसले राज्य अभिभावकीय भूमिकामा नरहेको देखिनेछ।’