नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट गुमाएको छ।
पोखराका तीनै विकेट चितवनका पाकिस्तानी तीव्र गतिका बलर सोहेल तन्विरले लिए।
उनले पहिलो बलमै पोखराका कप्तान कुशल भुर्तेललाई रवी बोपराबाट क्याच गराए। पाँचौं बलमा उनले दिलीप नाथलाई दीपक बोहराबाट क्याच गराए। अन्तिम बलमा बास डि लिडे बेन्केस्टाइनबाट क्याच भए। पहिलो ओभरमा तन्विरले तीन विकेट लिँदा चार रन दिए।
सन् २००८ मा राजस्थान रोयल्सबाट आइपिएल जितेका तन्विरले पाकिस्तानी टोलीबाट सन् २००९ को टी-२० विश्वकप जितेका थिए। तन्विरले काठमाडौं गुर्खाजविरूद्धको पहिलो खेलमा पाँच विकेट लिएका थिए।
चितवनको १६१ रनको योगफल
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो।
चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन-तीन चौका र छक्का प्रहार गरे।
चितवनले ओपनिङ भने राम्रो गर्न सकेन। ओपनिङ ब्याटर दीपक बोहरा २ रनमा पहिलो ओभरमा विपिन खत्रीबाट बोल्ड भए।
ओपनर हसन इशाखिल पनि १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाएर खेलिरहदा विपिनकै बलमा विकेटकिपर दिलिप नाथबाट क्याच भए।
त्यसपछि लुक बेन्केस्टाइन १६ रनमा आउट भए। उनलाई पोखराका डच बलर बास डि लिडेले आउट गरे।
कप्तान कुशल मल्ल र रवी बोपाराबीच ५६ रनको साझेदारी भएपछि चितवनको इनिङ्ग्स अघि बढ्यो।
१४औं ओभरमा सागर ढकालको बलमा क्याच हुनुअघि कुशलले २३ बलमा १ चौका र ४ चौकाको मद्दतमा ३८ रन बनाए।
१६ ओभरमा बोपारा आउट भएपछि अर्को ओभरमा सोहिल तन्विर बास डि लिडेको एलबिडब्लूको धरापमा परे। लगत्तै सन्तोष कार्की पनि १३ बलमा ११ रनमा आउट भए।
अमरसिंह रटेउलाले नटआउट १३ रन र शरद भेषवाकरले नटआउट ११ रन जोडे। चितवनले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सक्यो।
बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २-२ विकेट लिए।