नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले बुधबार कर्णाली याक्सविरूद्ध ३ विकेटको रोमाञ्चक जित निकाल्यो।
अन्तिम तीन बल बाँकी छँदा १५० रनको लक्ष्य पूरा गरेको काठमाडौंका कप्तान करण केसीले १० बलमा २८ रन प्रहार गर्दै आफ्नो टोलीलाई जित नजिक पुर्याएका थिए। उनले खेलमा दुई चौका र दुई छक्का प्रहार गरे।
१९ औं ओभरको अन्तिम बलमा उनी छक्का प्रहार गर्ने क्रममा आउट भएका थिए। कर्णालीका कप्तान सोमपाल कामीको बलमा छक्का प्रहार गर्ने क्रममा देव खनालले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच गरेका थिए।
खेलपछि उनले खेल अघि बढाउन आत्मविश्वास रहेको बताउँदै पाएको बलमा छक्का हान्ने योजना रहेको सुनाए।
‘मेरो खेल नै यस्तै हो। चौकाभन्दा पनि छक्का हान्न मनपर्छ,’ करणले भने, ‘खेललाई अघि बढाउन सक्छु भन्ने आत्मविश्वास थियो। मेरो जोनमा बल आयो भने म खेल पूरा गर्न सक्छु भन्ने आत्मविश्वासले ब्याटिङ गरेँ।’
उनले सुमित महर्जनको ब्याटिङको पनि तारिफ गरे। खेलको प्लेयर अफ दि म्याच बनेका सुमितले नटआउट ४० रन जोड्दा काठमाडौंले प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो।
‘उसले पछिल्लो समय लगातार खेलिरहेको छ। त्यसैले उसले खेललाई अघि बढाउन सक्छ भन्ने आत्मविश्वास थियो। अझ सुमित सेट पनि भइसकेको थियो,’ करणले भने, ‘उसले परिपक्व इनिङ्ग्स खेल्यो।’
गेरार्ल्ड इरासमसको इनिङ्ग्सका कारण पनि काठमाडौंलाई फाइदा पुगेको उनले बताए। इरासमसले २८ बलमा ३८ रन जोडे।
सुरूआतमा राम्रो गर्न नसके पनि मिडल अडरमा ब्याट्सम्यानले राम्रो खेल्दा पहिलो जित निकालेको उनको भनाइ छ।
आफ्नो टोली ब्याटिङ र बलिङ राम्रो भएको बताएका उनले टोलीलाई चाहिएको लय कर्णाली विरूद्धको जितले प्राप्त भएको पनि बताए।
बलिङमा पनि सुरूआतमा राम्रो गरे पनि पछिल्ला ओभरमा केही गल्ती भएको उनको भनाइ छ।
काठमाडौंविरूद्ध पहिले ब्याटिङ गरेको कर्णालीले भारतीय ब्याटर शिखर धवनको ७२ रनको मद्दतमा १४९ रन जोडेको थियो। करणले धवनको ब्याटिङको पनि प्रशंसा गरे।
‘मैदान गएपछि सबै खेलाडी एकै हुन्। जसले राम्रो खेल्छ, उसले जित्ने हो,’ उनले भने, ‘धवन अनुभवी खेलाडी हुन्। उनी १४-१५ ओभरसम्म खेलमा बसिरहे। त्यसपछि उनले अनुभवले एकदमै राम्रो ब्याटिङ गरे।’