नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स उत्कृष्ट लयमा देखिएको छ। लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो। पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्यो।
जनकपुर लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे। उनले २० बलमा ५ छक्का प्रहार गरे। क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए।
ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे। उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे।
टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो। पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन्।
ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके। न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्ने उनी पाँचौ ओभरको अन्तिम बलमा जिमी निमशको बलमा क्याच भए।
अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे। अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेको अवस्थामा ललित राजवंशीले आउट गरे।
कप्तान कुशल भुर्तेल दोस्रो खेलमा पनि चल्न सकेनन्। उनी ६ रनमा स्टमपिन भए। दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे।
मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे।
१९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि रेमन्ड राइफरले २० बलमा १७ रन जोडे।
अन्तिम ओभरमा आउट भएका स्कटिस अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडे। अन्तिम ओभरको सुरुवाती तीन बल डट खेलेपछि उनलाई किशोर महतोले आसिफ शेखबाट क्याच गराए।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए। उनले चार ओभरमा ३१ रन खर्चिए। जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए।