नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लगातार तीन खेलमा जित निकालेको जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो।
जनकपुरका लागि स्पिनर ललितनारायण राजवंशी उत्कृष्ट प्रदर्शन गर्ने मध्येका एक खेलाडी हुन्। उनले तीन खेलमा सात विकेट लिइसकेका छन्।
बिहीबार पोखराविरूद्ध उनले तीन विकेट लिएका थिए। पावरप्लेमा बलिङ गर्दै विकेट निकालिरहेका ललितले त्यसका लागि पहिले नै तयारी गर्ने गरेको सुनाए।
‘कोच र कप्तानले दिएको भूमिकामा आफ्नो शतप्रतिशत दिने तथा टिमलाई कसरी फाइदा हुन्छ भन्ने सोचेर बलिङ गर्छु। सधैं खेल्ने जस्तै गरी साधारण खेल खेल्छु,’ ललितले बिहीबार पोखरालाई पराजित गरेपछि भने, ‘पावरप्लेमा हातमा बलिङ आउँछ भनेर पहिलै मिटिङमा कुरा भएकाले थाहा हुन्छ। म मानसिक रूपमा तयार त्यसरी नै हुन्छु।’
जनकपुरले सुरूआती तीनै खेलमा जित निकाल्दा निकै खुसी लागेको बताए।
‘जनकपुरले तीनै खेलमा जित निकाल्दा एकदमै खुसी लागिरहेको छ। आफूले राम्रो प्रदर्शन गरेर टिम जितिरहेको छ। यसैलाई निरन्तरता दिने सोचले हिँडिरहेको छु,’ उनले भने।
जनकपुर टोली भित्रको वातावरण एकदमै राम्रो भएकाले जित निस्किरहेको उनको भनाइ छ।
‘सबै खेलाडीले एकअर्कालाई हेल्प गरिरहेका हुन्छन्। एकअर्कालाई मोटिभेट गरिरहेका छन्। विदेशी खेलाडी पनि मिल्ने खालका छन्। यसले गर्दा मैदानभित्र र बाहिरको अवस्था राम्रो छ। त्यसैले यो नतिजा आइरहेको जस्तो लाग्छ,’ ललितले भने।
जनकपुरको टोलीका ओपनर राष्ट्रिय टोलीका हुनु राम्रो भएको बताउँदै ललितले सधैं राम्रो रन बन्ने अपेक्षा गर्न नहुने पनि बताए। उनले कुनै खेलमा राम्रो प्रदर्शन हुने र कहिले नहुनु खेलको पक्ष भएको बताए।
उनले आफू प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको दौडमा हुने पनि बताए।
‘धेरै विकेट लिने बलरको रेसमा हुन्छु भन्ने आशा छ। हेरौं अगाडिको खेलमा के हुन्छ,’ उनले भने।
जनकपुरमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुँदा पनि नतिजा निकाल्न सहज भएको उनले महसुस गरेका छन्।
उनले भने, ‘पुबुदुले हामीसँग पहिला पनि काम गरिसक्नु भएको छ। उहाँलाई विदेशी खेलाडीदेखि घरेलु खेलाडीसम्मको लगभग सबै थाहा छ। यसले गर्दा हामी सबैलाई सजिलो भएको छ।’
उनले हरेक खेलाडी जस्तै आफ्नो पनि भारतको आइपिएल खेल्ने इच्छा रहेको पनि सुनाए।
भारतको मनपर्ने खेलाडी हर्षल पटेल भएको तथा रवीन्द्र जडेजालाई पनि फलो गर्ने ललितले बताए।
यो पनि:
लगातार दुई खेलमा पराजित भएपछि के भन्छन् पोखराका कप्तान कुशल भुर्तेल?