ओमानका अलराउन्डर जिशन मक्सुद नेपाली मैदान र समर्थकबारे धेरै जानकार छन्।
उनले सन् २०२० यता नेपालविरूद्ध ७ एकदिवसीय खेल खेलेका छन्। एउटा एकदिवसीय खेलमा त उनले नेपालविरूद्ध शतक समेत प्रहार गरेका छन्।
उनले सन् २०१९ देखि अहिलेसम्म ८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल समेत खेलेका छन्। यसरी एकदिवसीय र टी-२० गरी नेपालविरूद्ध १५ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
केही समयअघिसम्म ओमान राष्ट्रिय टोलीको कप्तान रहेका मक्सुद अहिले नेपालविरूद्ध होइन नेपाली टोलीबाट खेल्न काठमाडौंमा छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्समा आबद्ध उनले शुक्रबार चितवन राइनोजविरूद्ध ६ विकेटले जित निकाल्ने क्रममा नटआउट १२ रन जोडे भने २ विकेट समेत लिन सफल भए।
चितवनविरूद्धको खेलमा उनले अन्तिम दुई बल बाँकी छदा तीन रन चाहिएको अवस्थामा रिजन ढकाललाई विजयी चौका प्रहार गरेका थिए।
यद्यपी १९औं ओभरमा उनले पाकिस्तानी बलर सोहेल तन्विरविरूद्ध सुरुवाती तीन बलमा रन लिन सकेनन् भने चौथो बलमा एक रन मात्र प्रहार गर्न सकेका थिए। जसका कारण कर्णालीलाई अन्तिम ओभरमा ९ रन चाहियो।
१३१ रनको लक्ष्य भए पनि अन्तिम दुई बल बाँकी रहदा सम्म लम्बिएको खेलमा मक्सुदले चितवनका तीव्र गतिका बलरले राम्रो बलिङ गरेको बताए।
‘उनीहरुले राम्रो बलिङ गरे। त्यसैले हामीले सिंगल रन लिएर खेल्न पर्यो। तर पनि हामीले खेल जित्न सफल भयौं,’ खेलपछि उनले भने।
नेपालमा क्रिकेट खेल्न सधैं रमाइलो हुने उनको अनुभव छ। विगत पाँच वर्षमा नेपालविरूद्ध १५ खेल खेलिसकेका मक्सुदले नेपाली समर्थकको कारण नै एनपिएल खेल्न आएको समेत बताए।
‘नेपाली समर्थकका अघि यो मैदानमा खेल्दा धेरै रमाइलो हुन्छ। धेरै समर्थकआउछन्। त्यसैले यहाँ खेल्न आएको हुँ,’ उनले भने, ‘प्रत्येक बल, रन र बाउन्ड्रीमा चियर गर्छन्। उनीहरु मायालु छन्। परिवार जस्तै लाग्छ।’
पहिलो खेल जितेपछि कर्णालीको बाँकी खेलका लागि आत्मविश्वास बढ्ने उनको भनाइ छ।
मिडल ओभरमा उनले कर्णालीका स्पिनर विपिनप्रसाद शर्मासँग मिलेर बलिङ गरेका थिए। ३ विकेट लिएका विपिन खेलको प्लेयर अफ दि म्याच भए।
३७ वर्षीय मक्सुदले १६ वर्षीय विपिनसँग मिडल ओभरमा बलिङ गर्दा राम्रो भइरहेको बताए। विपिनबारे उनले भने, ‘उसमा क्षमता छ। हामीले अझ राम्रो प्रदर्शन गर्न सक्छौं। उसँग बलिङ गर्दा उत्साहित छु। हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गर्दै रन रोक्नु हो।’
पहिलो दुई खेल हारेपछि आजको खेलमा जितका लागि मैदान उत्रिएको उनले बताए। साथै भारतीय ब्याटर शिखर धवन हुँदा टोली बलियो भएको उनको भनाइ छ।
‘शिखर धवनसँग धेरै अनुभव छ। उनले धेरै अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जुन कुरा उनले मैदान पनि देखाइसकेका छन्,’ शिखर बारे मक्सुदले भने।