सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले शुक्रबार पहिलो हारको सामना गर्यो। कर्णाली याक्सविरूद्धको खेलमा चितवन ६ विकेटले पराजित भएको हो।
यसअघि दुवै खेलमा जित निकालेको चितवनले विहानको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो।
जसमा चितवनले ७ विकेटको क्षतिमा १३० रन मात्र जोड्न सक्यो।
चितवनका लागि इंग्लिस अलराउन्डर रवी बोपाराले नटआउट ५९ रन जोडेका थिए। उनले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।
तर खेलमा नेपालका ब्याटर भने चल्न सकेनन्। कुशल मल्लले २३ रन बनाउँद अरु ब्याटर सस्तैमा आउट भएका थिए। दीपक बोहरा ८ रन, विपिन रावल ११ रन र अमरसिंह रटेउलाले ९ रन मात्र जोड्न सके।
सामान्य स्कोरमा समेटिएपछि खेल बारेमा प्रतिक्रिया दिँदै बोपाराले नेपाली ब्याटरमा पावरको कमी भएको टिप्पणी गरेका छन्।
‘यहाँको विकेटमा विहान ब्याटिङ गर्न धेरै पावर चाहिन्छ। हल्का खेलेर पुग्दैन। हाड हिटिङ गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘नेपाली ब्याटरहरू यसैमा संघर्ष गरिरहेका छन्। नेपाली खेलाडी केही साना पनि छन्। उहीहरूलाई ट्रेनिङको आवश्यकता छ।’
तर पनि बोपराले नेपाली खेलाडीमा क्षमता भएको र विशेषगरी स्पिनरहरू राम्रा भएको बताए। चितवनका कप्तान कुशल मल्लको बारेमा टिप्पणी गर्दै मल्ल अझै राम्रो खेलाडी बन्न सक्ने बताए।
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका ३९ वर्षीय बोपारा दुबईको टी-१० लिग खेलेर नेपालमा एनपिएल खेल्न आएका हुन्।
नेपालको वातावरण राम्रो लागेको बताउँदै बोपाराले यहाँको रेस्टुरेन्टमा गएर खाना आएको अनुभव समेत सुनाउन भ्याए।