सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले शुक्रबार पहिलो जित निकाल्दा ओपनरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे।
लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य यी दुई ओपनर मिलेर १६.५ ओभरमै पूरा गरिदिएका थिए। गौसले कीर्तिमानी शतक प्रहार गर्ने क्रममा नटआउट १०४ रन बनाए। दिनेशले नटआउट ६१ रन जोडे।
अनुभवी गौस अमेरिका ब्याटर हुन्। उनले दक्षिण अफ्रिकाको यू-१९ टोलीबाट समेत खेलेका थिए। क्यारेबियन प्रिमियर लिग तथा दक्षिण अफ्रिकाको घरेलु क्रिकेट खेलेका छन् उनले।
अहिले अमेरिकन राष्ट्रिय टोलीबाट खेल्ने ३१ वर्षीय गौसलाई २२ वर्षीय दिनेश खरेलले उत्कृष्ट साथ दिएका थिए।
खरेल नेपाली घरेलु क्रिकेटमा सुनिएको नाम भने होइन। गुल्मी पुर्ख्यौली घर भएका दिनेश न्युजिल्यान्डमा बस्छन्। उनी त्यहाँ बसेर न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने गरेका छन्।
व्यवसायिक क्रिकेट नखेले पनि उनले त्यहाँका स्थानीय स्तरका क्रिकेट खेलेको कारण पोखराले उनलाई अक्सनबाट लिएको हो। खरेल बायाँ हाते ब्याटर तथा अर्थोडक्स बलर हुन्।
अक्सनमा उनलाई पोखराले लिएपछि धेरैले उनीबारे चासो दिएका थिए। नेपालको कुनै क्लबबाट क्रिकेट नखेले पनि उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न दुई वर्षअघि नेपाल आएका थिए।
नवौं राष्ट्रिय प्रतियोगिता उनले गैरआवासीय नेपाली संघको टोलीबाट खेलेका थिए। त्यतिबेला उनले कीर्तिपुर मैदानमै तीन खेल खेलेका थिए। तर उनले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नवौं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमविरुद्धको पहिलो खेलमा उनी शून्यमा आउट भएका थिए। त्यसपछि एपिएफविरुद्ध उनले ३२ रन जोड्दा पुलिससँग चार रन मात्र जोडेका थिए। पुलिसविरुद्ध उनले १ विकेट भने लिन सफल भएका थिए।
त्यसपछि न्युजिल्यान्ड फर्किएका दिनेशले नेपाल प्रिमियर लिगका लागि अक्सनमा नाम दर्ता गराएका थिए। जसमा पोखराले उनलाई सी क्याटागोरीबाट २ लाख रूपैयाँमा टोलीमा भित्र्याएको थियो।
पोखराले विश्वास गरेर उनलाई एनपिएलमा ओपनिङको जिम्मा थियो। तर उनले एनपिएलको सुरूवाती दुई खेलमा राम्रो खेल्न सकेनन्। चितवन राइनोजविरुद्ध १ रनमा आउट भएका उनले जनकपुर बोल्ट्सविरूद्ध १० रन मात्र जोड्न सके।
शुक्रबार लुम्बिनीविरूद्ध भने उनले उत्कृष्ट खेल देखाए। ४६ बलमा चार चौका र चार छक्का प्रहार गरेसँगै अब नेपाली क्रिकेट बृतमा उनले आफ्नो छाँप छाड्न सफल भएका छन्।
दिनेश सन् २०१९ मा न्युजिल्यान्डको अकल्यान्ड क्रिकेटको यू-१७ टोलीमा परेका थिए। उनी त्यतिबेला क्रिकेट मात्र होइन फुटबल पनि खेल्थे। त्यतिबेला उनले नेपाली समुदायको फुटबल क्लब खुकुरीबाट खेलेका थिए।