भर्खरै सम्पन्न भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कुनै नेपाली खेलाडीको सर्वाधिक चर्चा भयो भने उनी हुन्, १६ वर्षीय विपिनप्रसाद शर्मा।
सुर्खेत भेरिगंगा-८ का विपिनले प्रतियोगितामा ८ खेलबाट १३ विकेट लिए। उनले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका क्रिकेटरद्वय मार्टिन गप्टिल र जिमी निशम, पाकिस्तानका सोहेल तन्विर, अस्ट्रेलियाका बेन कटिङ लगायत चर्चित विदेशी खेलाडीहरूको विकेट हात पारेका थिए। जसका कारण उनी चर्चाको शिखरमा रहन सफल भए।
विपिन एनपिएलमा कर्णाली याक्ससँग आवद्ध थिए। उनलाई कर्णालीले ट्यालेन्ट हण्टबाट टोलीमा भित्र्याएको थियो।
प्रतियोगितामा कर्णालीलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका विपिन लिग चरणमा चितवन राइनोजविरूद्धको खेलमा म्यान अफ दि म्याच भएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विपिन एनपिएलकै इमर्जिङ प्लेयर घोषित भए।
इमर्जिङ प्लेयरबाट पुरस्कृत भएपछि खुसी साट्दै विपिनले भने, 'इमर्जिङ प्लेयरको अवार्ड पाएपछि भिडिओ कल गर्दा मलाई देखेर ममी रूनुभयो। त्यो देखेर मलाई पनि कस्तो-कस्तो भयो। सायद खुसीको आँसु थियो त्यो!'
आमाको आँखा रसाएको खुसीको आँसुले १६ वर्षीय विपिनलाई भावुक बनायो। त्यसपछि विगतमा गरेका संघर्षहरू उनको आँखामा फनफनी नाच्न थाले।
सानैदेखि क्रिकेटमा रूचि भएका विपिन परिवारलाई छलेर क्रिकेट खेल्न जान्थे। उनका दाइ अरूण शर्मा पनि क्रिकेट खेल्थे। दाइ ब्याट र बल बोकेर निस्कनेबित्तिकै उनी पनि पछिपछि लागिहाल्थे।
'दाइहरू खेल्नुहुन्थ्यो। म चाहिँ अम्पायर बस्थेँ। अनि दाइहरू गएपछि हामी चिल्लर पार्टीको सुरू हुन्थ्यो गेम,' त्यो क्षण सम्झिँदै उनले भने, 'बिहान गएपछि एकैचोटि साँझ घर आइन्थ्यो। धेरैचोटि गाली र पिटाइ खाएको छु।'
क्रिकेटप्रतिको चासो देखेर परिवारले पनि विस्तारै विपिनलाई खेल्न रोकतोक गरेनन्। पछि त उनी कर्णाली क्रिकेट एकेडेमीमै भर्ना भएर नियमित खेल्न सुरू गरे।
एकेडेमीमा भर्ना भएपछि विपिनले थप समय क्रिकेटमा दिन थाले। आफूले एकदिन पनि एकेडेमी जान नछुटाएको उल्लेख गर्दै उनले भने, 'वर्षको एकदिन पनि नछुटाई एकेडेमी जान्थेँ। तिहारको दिन पनि दिदीको हातको टीका लगाएर एकेडेमी गएको छु।'
लगातारको मेहनत र प्रदर्शनले विपिन क्षेत्रीय टोलीमा परे। कर्णालीबाट उनले धेरै क्षेत्रीय प्रतियोगिता खेलिसकेका छन्। यसैबीच उनले नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुन लागेको कुरा थाहा पाए। सो कुराले उनको मन लोभियो।
एनपिएल हुने घोषणापछि केही दिनमा कर्णाली याक्सको टोली ट्यालेन्ट हण्ट गर्न सुर्खेत जाँदै थियो। यो विपिनलाई थाहा नहुने कुरै भएन। उनीसहित ६० जनाले फाराम भरे। पहिलो चरणको छनोटमा उनी टप १६ मा परे र दोस्रो छनोटमा पनि उनी टप ५ मा परे।
त्यसको भोलिपल्टतिर विपिन घरको छतमा बसिरहेका थिए। यत्तिकैमा उनले कर्णाली याक्सको टोली आफ्नो घरतिर आइरहेको देखे। उनी अलमल्ल परे। केही क्षणमै कर्णालीको टोली आएर उनलाई बधाई दिए।
'त्यो दिन म छतमा ममी-बुबासँग कुरा गरिरहेको थिएँ। त्यही बेला एक्कासि क्यामेरासहित कर्णालीका दाइहरू आउनुभएर सरप्राइज दिनुभयो। म त खुसी हुने भइहालेँ तर ममी-बाबा झन् खुसी हुनुभयो,' त्यो क्षण सम्झिँदै उनले भने।
यसरी कर्णाली याक्ससँग आबद्ध हुँदै विपिन काठमाडौं उत्रिए। काठमाडौं आउँदै गर्दा विपिनको मनमा धेरै कुराहरू खेल्न थाले।
ट्यालेन्ट हण्टबाट आएको आफू प्लेइङ ११ मा परिने हो कि हैन भन्ने दुविधा उनमा थियो। किनभने टोलीमा अक्सनबाट आएका धेरै राम्रा र अनुभवी खेलाडीहरू थिए। तर मौका पाएको बेला आफूलाई प्रमाणित गर्नुपर्छ भन्नेमा उनी आत्मविश्वासी देखिन्थे।
नभन्दै उनले दोस्रो खेलमा मौका पाए।
'काठमाडौंसँगको म्याच थियो। म त प्लेइङ ११ मा पर्दिनँ भन्ने लागेको थियो तर एक्कासि राजु दाइ आएर 'तँ आज खेल्दैछस् है' भन्नुहुँदा सरप्राइज भएँ,' उनले भने।
दोस्रो खेलमा मौका पाएका विपिनले आफ्नो पहिलो खेलमै कसिलो बलिङ गरे। ४ ओभर बलिङ गरेका उनले १८ रन खर्चेर एक विकेट हात पारे। त्यसपछि भने विपिन लगातार टोलीमा परे।
कुल ८ खेलबाट १३ विकेट लिएका विपिनबाट मार्टिन गप्टिल, जिमी निशम, बेन कटिङ लगायत चर्चित विदेशी खेलाडी सिकार भए।
यसर्थ पनि विपिनले पहिलो खलेबाटै दर्शकको ध्यान खिचे। त्यसपछिका हरेक खेलमा दर्शकहरूले विपिनलाई ध्यानपूर्वक हेर्न थाले।
क्यानका सचिव एवं राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पनि उनको खुलेर प्रशंसा गरेका थिए।
१६ वर्षमै आफ्नो प्रदर्शनमार्फत् तहल्का मच्चाएका विपिन प्रतियोगिताका इमर्जिङ प्लेयर घोषित भए। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए।
अब भने विपिनलाई राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्ने मन छ।
'अबको मेरो सपना भनेको राष्ट्रिय टोलीबाट खेल्ने हो,' विपिनले भने।