स्कटल्यान्डको डन्डीमा भएको आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सका म्याक्स ओ'डाउडको अविजित १५८ रनले स्कटल्यान्डका जर्ज मुन्सीको कीर्तिमानी १९१ रनलाई छायाँमा पारिदिएको छ।
यससँगै नेदरल्यान्ड्सले स्कटल्यान्डविरुद्ध एकदिवसीय क्रिकेटको इतिहासमा ३७० रनको तेस्रो ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै जित निकालेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले मुन्सीको १५० बलमा बनाएको कीर्तिमानी १९१ रनको मद्दतले ३६९ रनको विशाल स्कोर खडा गरेको थियो। यो कुनै पनि एसोसिएट राष्ट्रका ब्याटरले एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो।
यसअघि यो कीर्तिमान सन् २०१० मा क्यानडाविरुद्ध १७७ रन बनाएका पल स्टर्लिङको नाममा थियो। मुन्सीसँग दोहोरो शतक बनाउने सुनौलो अवसर थियो, उनी आउट हुँदा इनिङ्समा अझै दश बल बाँकी थियो।
कप्तान म्याथ्यु क्रसले पनि ४९ बलमा ५९ रनको योगदान दिए। उनले मुन्सीसँग पाँचौं विकेटका लागि १०१ बलमा १५० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई ६ विकेटको क्षतिमा ३६९ रनको विशाल योगफलसम्म पुर्याए।
तर, ओ'डाउडको माइकल लेभिटसँग मिलेर ९.२ ओभरमा ६७ रनको साझेदारी गरे। ओ'डाउड र स्कट एडवर्ड्सले रन पछ्याउने क्रमलाई पुनः लयमा फर्काउँदै २१ ओभरमा नेदरल्यान्ड्सलाई १४३ रनसम्म पुर्याए।
एडवर्ड्स र वेस्ली बरेसी आउट भएपछि ओ'डाउडले तेजा निदामनुरुको रूपमा राम्रो साथ पाए। दुवैले तीव्र गतिमा रन बनाउँदै ९१ बलमा १०१ रनको साझेदारी गरे। अन्तिम दश ओभरमा ९१ रन आवश्यक हुँदा र ६ विकेट हातमा रहँदा नेदरल्यान्ड्स जितका लागि बलियो दाबेदार देखिएको थियो।
नोआ क्रोसले मात्र २९ बलमा ५० रनको विष्फोटक पारी खेल्दै स्कटल्यान्डको आशामा तुषारापात गरे। जब उनी ४८ औं ओभरमा आउट भए। नेदरल्यान्ड्सलाई जितका लागि १५ बलमा १५ रन मात्र आवश्यक थियो। अन्त्यमा, ओ'डाउडले नै खेललाई सुखद अन्त्य दिए। उनले मैदानको सीधा छक्का प्रहार गर्दै चार बल र चार विकेट बाँकी छँदै आफ्नो टोलीलाई जित दिलाए।
यो सिरिजमा नेपाल, स्कटल्यान्ड्स र नेदरल्यान्ड्स भिडेका थिए। जसमा नेपालले तीन खेलमा जित निकाल्दा स्कटल्यान्डले दुई र नेदरल्यान्ड्स एक खेलमा विजयी भए।