दक्षिण अफ्रिकाले क्रिकेटमा नयाँ इतिहास रचेको छ। दक्षिण अफ्रिकाकाले सन् २०२५ को आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो। यससँगै उसले आइसिसीको पहिलो मुख्य उपाधि जितेको हो।
इंग्ल्यान्डको लन्डनस्थित लर्ड्सको ऐतिहासिक मैदानमा भएको फाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै पहिलो पटक यो प्रतिष्ठित उपाधि हात पारेको हो।
२८२ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले सुरुमा दुई विकेट गुमाए पनि एडेन मार्करामले शतक (१३६ रन) प्रहार गरे भने कप्तान टेम्बा बाभुमाले अर्धशतक (६६ रन) बनाए। यी दुईको साझेदारीले टिमलाई ऐतिहासिक जितसम्म डोर्यायो।
अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा २१२ रन बनाएको थियो। जसमा स्टीभ स्मिथले ६६ र ब्यू वेबस्टरले ७२ रन बनाए। दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ र मार्को जेन्सनले ३ विकेट लिएका थिए।
जवाफमा दक्षिण अफ्रिका पहिलो पारीमा १३८ रनमै समेटियो। जसले अस्ट्रेलियालाई पहिलो पारीमा ७४ रनको अग्रता दिलाएको थियो। दक्षिण अफ्रिकाका लागि कोहो ब्याटरले पनि अर्धशतक बनाउन सकेनन्। बलिङमा अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ६ विकेट लिए भने मिचेल स्टार्कको नाममा २ विकेट रह्यो।
अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २०७ रन बनाएर अलआउट भयो। जसले पहिलो पारीको ७४ रनको अग्रतासहित कुल २८१ रनको अग्रता प्राप्त गर्यो। यसबाट दक्षिण अफ्रिकालाई जितका लागि २८२ रनको लक्ष्य प्राप्त भएको हो।
अस्ट्रेलियाको दोस्रो पारीमा मिचेल स्टार्कले नटआउट ५८ रन बनाए, र उनले दशौं विकेटका लागि जोश हेजलवुडसँग ५९ रनको महत्त्वपूर्ण साझेदारी गरे। दक्षिण अफ्रिकाको बलिङमा कागिसो रबाडाले ४ विकेट र लुंगी एनगिडीले ३ विकेट लिए। रबाडाले दुवै पारीमा गरी कुल ९ विकेट हासिल गरे, जुन उनको उत्कृष्ट प्रदर्शन हो।
तेस्रो दिनको लन्चपछि दक्षिण अफ्रिकाले दक्षिण पछ्याएर ब्याटिङ सुरू गर्दा सुरुवातमा दुई विकेट गुमायो। तर बाभुमा र एडेन मार्करामले दक्षिण अफ्रिकालाई जिततर्फ डोहोर्याए।
दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको हो भने पहिलो आइसिसी मुख्य प्रतियोगिताको उपाधि जितेको हो।