आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२५ आगामी सेप्टेम्बर ३० बाट सुरु हुँदैछ।
उद्घाटन खेलमा आयोजक भारतले बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
यो प्रतियोगिता भारतका बेंगलुरु, इन्दौर, गुवाहाटी, विशाखापट्टनम र श्रीलंकाको कोलम्बो गरी पाँच स्थानमा खेलाइनेछ।
प्रतियोगिताको आधिकारिक आयोजक भारत हो। तर भारत र पाकिस्तान क्रिकेट बोर्डबीचको सम्झौताअनुसार पाकिस्तानका खेलहरू श्रीलंकामा हुन लागेका हुन्।
भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण दुवै टोलीले एक अर्काको मैदानमा खेल्ने गरेका छैनन्।
भारतको सबैभन्दा चर्चित खेल पाकिस्तानविरुद्ध अक्टोबर ५ मा श्रीलंकाको कोलम्बोमा हुनेछ। भारतले अक्टोबर २६ मा बेंगलुरुमा बंगलादेशसँग पनि खेल्नेछ।
साबिक विजेता अस्ट्रेलियाले आफ्नो अभियान अक्टोबर १ मा न्युजिल्यान्डविरुद्ध इन्दौरमा सुरु गर्नेछ। उसले अक्टोबर ८ मा कोलम्बोमा पाकिस्तानसँग र अक्टोबर २२ मा इन्दौरमा इंग्ल्यान्डसँग खेल्नेछ।
भारतसँगको राजनीतिक तनावका कारण पाकिस्तानले आफ्ना सबै खेलहरू श्रीलंकाको कोलम्बोमा खेल्नेछ। उसको खेल तालिकाअनुसार बंगलादेश (अक्टोबर २), इंग्ल्यान्ड (अक्टोबर १५), न्युजिल्यान्ड (अक्टोबर १८), दक्षिण अफ्रिका (अक्टोबर २१) र श्रीलंका (अक्टोबर २४) विरुद्धका खेलहरू छन्।
प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो सेमिफाइनल अक्टोबर २९ मा र दोस्रो सेमिफाइनल अक्टोबर ३० मा हुनेछ। फाइनल खेल नोभेम्बर २ मा बेंगलुरु वा कोलम्बोमा आयोजना हुनेछ।