नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिनिअक्सनअघि काठमाडौं गोर्खाजका प्रमुख प्रशिक्षक मोन्टी देसाई नेपाल आएका छन्।
उनी बिहीबार दिउँसको काठमाडौं आइपुगेका हुन्। विमानस्थालमा ओर्लिएपछि मोन्टीले काठमाडौं गोर्खाजसँगको उत्साहपूर्ण यात्रा सुरुवात गर्न लागेको बताए।
उनले काठमाडौंको राम्रो टोली बनाउने र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
दोस्रो सिजनको एनपिएलका लागि शनिबार अक्सन हुँदैछ। अक्सनमा तीन श्रेणीका १५० जनाको सूची हुनेछ भने कम्तिमा ३७ खेलाडीको मात्र बोली लाग्नेछ।
जसमा एबाट ४ खेलाडी, बीबाट २३ र सी श्रेणीबाट १० जना खेलाडीको बोली लाग्नेछ। अक्सनमा ए श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ हुनेछ। बीको न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ हुनेछ। सी श्रेणीको न्यूनतम २ लाख र अधिकतम ५ लाख रूपैयाँ हुनेछ।
मोन्टी २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए। यहि क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो। मोन्टीकै प्रशिक्षणमा नेपालले १० वर्षपछि टी-२० विश्वकपमा पुनरागमन गरेको थियो।
मोन्टीलाई साथ दिन प्रशिक्षकमा बसन्त शाही, टेक्निकल एनालिस्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवालाई निरन्तरता दिइएको छ।
काठमाडौं गोर्खाजले एनपिएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम शार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई 'रिटेन' गरेको थियो।