आइसिसी टी-२० विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्ने २० वटै टोलीको टुंगो लागेको छ।
ओमानमा जारी एसिया एन्ड इपिए छनोटमा जापानलाई ८ विकेटले हराउँदै युएईले पनि स्थान पक्का गरेसँगै चार महिनापछि हुने विश्वकप खेल्ने सबै टोलीको टुंगो लागेको हो।
यसअघि यहि छनोटबाट नेपाल र ओमानले पनि स्थान पक्का गरेका थिए।
आइसिसी टी-२० विश्वकप २०२६ का लागि २० टोली कसरी भए छनोट?
आयोजक : भारत र श्रीलंका
सन् २०२४ सुपर-८ : अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज
वरीयताका आधारमा : आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान
अमेरिका छनोट : क्यानडा
युरोप छनोट : इटाली र नेदरल्यान्ड्स
अफ्रिका छनोट : नामिबिया र जिम्बावे
एसिया छनोट : नेपाल, ओमान र युएई
सन् २०२६ को टी-२० विश्वकप प्रतियोगिताको आयोजना भारत र श्रीलंका ले संयुक्त रूपमा गर्ने छन्।
विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने तय छ। छनोट भएका २० टोलीले सुरूमा समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा चार समूहमा पाँच पाँच टोली हुनेछन्।
समूहका शीर्ष दुई दुई टोली गरी आठ टोली सुपर-८ मा पुग्नेछन्। त्यसपछि पनि दुई समूहमा प्रतिस्पर्धा हुने सपुर-८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।
भारत र पाकिस्तान बीचका खेल श्रीलंकामा हुनेछ। फाइनलका लागि भारतको अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम वा पाकिस्तान योग्य भए कोलम्बोको आर प्रेमदासा स्टेडियम हुनेछ।