मान्छेहरू देशमा व्यवसायका लागि वातावरण नै छैन भन्छन्। हुन पनि वर्षौंदेखि चलिरहेका उद्योग, व्यवसाय बन्द भइरहेको हामीले देखेकै छौं। पहिले असाध्यै व्यस्त रहने बजारमा अहिले ‘सटर खाली छ’ लेखिएको स्टिकर टाँसिएको देख्नु नौलो छैन।
तर यही समयमा नारायणगढ बजार नजिकै एक जना डाक्टरले करोडौं रुपैयाँ खर्च गरेर स्पोर्ट्स एकेडेमी सञ्चालनमा ल्याएका छन्।
भरतपुर महानगरपालिका–३ नौघरेमा रहेको करिब एक बिघा जमिन केही वर्षअघिसम्म झाडीको रूपमा थियो। लामो समयदेखि व्यर्थ बन्दै गएको जमिनमा अहिले ठूला खेल संरचनाहरू बनेका छन्। यहाँ बच्चादेखि युवा र प्रौढसम्मलाई खेल्न, रमाउन मिल्ने संरचना तयार भएको छ।
नवलपुरको गैंडाकोट घर भएका शुभ लामिछाने भरतपुरस्थित पुरानो मेडिकल कलेजमा प्याथोलोजीमा एमडी गर्दैछन्। उनले चिकित्सा शास्त्रको अध्ययन सुरू गर्दाखेरी नै स्वास्थ्य र खेलकुदलाई जोडेर व्यवसाय सञ्चालन गर्ने सोच बनाएका थिए। तर कहिले भूकम्प, कहिले कोरोना महामारीले उनको सोच कागजमा मात्रै सीमित बनेको थियो।
‘हामी सानो छँदा बिदाको दिनमा खेल्न प्रशस्त जमिन हुन्थे। मैदान, खेत, बारीमा दिनभर खेलिन्थ्यो। तर अहिले सहरमा खाली जमिन देख्नै मुस्किल हुनथाल्यो। बच्चाहरू कोठाभित्र बसेर मोबाइलमा खेल्न बाध्य छन्। यसले उनीहरूलाई अस्वस्थ बनाइरहेको छ,’ ३० वर्षीय डा.लामिछानेले भने, ‘बच्चाहरूका लागि खेल मैदान निर्माण गर्न सकियो भने उनीहरूको मानसिक, शारीरिक स्वास्थ्यमा धेरै फाइदा हुन्थ्यो भन्ने सधैं लागिरहन्थ्यो।’
उनले आफ्नो सोच बुवा षडानन्द लामिछानेलाई सुनाएका थिए। छोराको कुरा बुवालाई पनि मन पर्यो। त्यसपछि बनेको थियो स्पोर्ट्स एकेडेमीको योजना। यो योजनालाई मूर्तरूप दिन लामिछाने परिवारले नौघरेमा रहेको १९ कट्ठा ३ धुर जमिन भाडामा लिए। बैंकबाट ऋण लिएर गत वर्षदेखि संरचना निर्माण थाले।
यहाँ अहिले आइसिसी मापदण्डमा बनेको क्रिकसल, फिफा मापदण्डमा बनेको फुटसल तयार भएका छन्। एउटा सामान्य फुटसल पनि बनेको छ। ओलम्पिक मापदण्डको स्वीमिङ पुल अहिले बनिरहेको छ। आइसिसी मापदण्डमा क्रिकसल, फिफा मापदण्डमा फुटसल काठमाडौं बाहिर यो मात्रै हो। साथमा स्पोर्ट्स बार बन्दैछ। जहाँ ठूलो स्क्रिनमा खेल हेर्दै बारमा रमाउन पाइन्छ।
यी सबै संरचना निर्माण गर्न १० करोड रुपैयाँ खर्च लाग्ने डा.लामिछानेले बताए।
‘हामीले बनाएका सबै संरचना अपांगमैत्री, बालमैत्री छन्। विद्युतीय गाडी चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन राख्दैछौं। फिल्म हल र जिम हल पनि योजनामा छन्,’ उनले भने।
लामिछाने खेलकुदका सौखिन हुन्। उनी समय मिल्दा आफू पनि खेल्छन्। समय मिलाएर खेलहरू हेर्छन्। खेलको विषयमा अध्ययन गर्छन्। खेलकुद कसरी चल्छ भन्ने कुरामा पनि रुचि राख्छन्।
‘खेलको बारेमा इतिहास पढ्दै जाँदा देखेको सिकेको कुराहरूलाई कसरी प्रयोगमा ल्याउने भन्ने सधैं सोचिरहन्थें। चिकित्सा शास्त्र पढ्न थालेपछि स्वास्थ्य र खेललाई कसरी जोड्ने होला भन्ने कुरामा चासो बढ्यो,’ लामिछानेले भने, ‘स्वास्थ्य खेल र शारीरिक कसरतसँग जोडिएको हुन्छ। भारी बोक्दा पनि स्वस्थ त भइन्छ तर त्यहाँ रमाइलो हुँदैन। खेल रमाइलो पनि हुने, यसमार्फत् स्वस्थ र सामाजिक पनि भइने भएकाले उपयुक्त देखेँ।’
उनको विवाह पनि चिकित्सक सँगै भयो। श्रीमती अमृता सिग्देल भरतपुर अस्पतालकी मेडिकल अधिकृत हुन्। खेलकुदमा उनको पनि चासो भएकाले स्पोर्ट्स एकेडेमी सञ्चालन गर्न सहज भएको लामिछानेले बताए।
उनीहरूले सञ्चालन गरेको क्यास्सी स्पोर्ट्ससँग मिलेर चितवन क्रिकेट संघले अहिले किड्स क्याम्प गर्दैछ। यहाँ ८ देखि १४ वर्षसम्मका बालबालिकालाई सहभागी गराइएको छ। शानिबार र सार्वजनिक बिदाको दिनमा क्रिकेटका अनुभवी कोचबाट प्रशिक्षण दिइन्छ।
चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाका अनुसार दिनको तीन घण्टाका दरले आठ दिन बालबालिकालाई क्रिकेटको तालिम दिने गरिएको छ।
‘विद्यालय तहबाटै क्रिकेटबारे बुझाउन अनुभवी र व्यावसायिक कोचले सिकाउनुहुन्छ। यसले बालबालिकालाई स्वस्थ र फूर्तिलो बनाउँछ। साथै क्रिकेटमा नयाँ पुस्ताको विकासमा मद्दत पुग्छ,’ उनले भने।
एएफसीबाट लाइसेन्स पाएका कोचहरूले फुटबलको प्रशिक्षण दिन्छन्।
लामिछानेले स्पोर्ट्स एकेडेमीलाई बिहान र दिउँसोको समयमा सिकाउने प्रयोजनका लागि चलाउने, साँझको बेलामा व्यावसायिक रूपमा सञ्चालन गर्ने बताए।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की विद्यालयहरूमा ठूला भवनहरु बने पनि खेल्नका लागि सामान्य मैदान पनि नहुँदा खेलकुदको विकास हुन नसकेको बताउँछन्।
‘खेल संरचनाको अभावमा बालबालिकाहरू घरभित्रै समेटिएका छन्। मोबाइल र टिभीको लतले अटिजमको बिरामी हुने गरेका छन्,’ उनी भन्छन्, ‘स्वस्थ भएन भने विद्यार्थीले गतिलो पढ्न सक्दैन। स्वस्थ बन्न खेलको भूमिका हुन्छ। स्पोर्टस एकेडेमीले बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनेदेखि योग्य खेलाडी उत्पादनमा सघाउँछ।’
भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास थापाले झाडी बनिरहेको जमिनमा लगानी गरेर निर्माण गरिएको खेल संरचना महानगरको सान भएको दाबी गरे।
‘हामी बालबालिकालाई स्वस्थ, खेलमा अब्बल र क्षमतावान बनाउन चाहन्छौं। यसका लागि महानगरले पनि लगानी गरेको छ। निजी क्षेत्रबाट भएको लागनीको सुरक्षाका लागि पनि हामी लाग्छौं,’ थापाले भने।
स्पोर्ट्स एकेडेमीका संरक्षक षडानन्द लामिछानेले यो संरचनालाई खेलकुदको नर्सरी बनाउने लक्ष्य राखेको बताए।
‘पहिले खेतबारीमा नांगो खुट्टाले खेलेर महान खेलाडीहरू जन्मिए तर अहिले बारीमा खेलेर व्यावसायिक खेलाडी उत्पादन गर्न गाह्रो छ। ग्रासउड लेभलबाटै बालबालिकालाई खेलमा उत्साहित र प्रोत्साहन गर्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले खेलकुदका लागि नर्सरीको विकास गरेका छौं। यहाँबाट उत्पादन भएका खेलाडीले देशको नाम राखून् भन्ने चाहन्छौं।’