उनको सपना थियो — चन्द्रसूर्य चिह्न अंकित राष्ट्रिय जर्सी लगाउने। अनि नेपालको राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने।
विराटनगरका पुराना पुस्ताका खेलाडीमा दरिने महेशप्रसाद रिजाल धेरैपटक त्यो सपनाको नजिक पुगेर पनि सफल हुन सकेनन्। धेरैपटक क्लोज क्याम्पसम्म पुगेका उनी अन्तिम समयमा टोलीमा अटाउन सकेनन्। केहीपटक बोलाएको बेला पारिवारिक समस्याले पनि उपलब्ध हुन सकेनन्।
यसरी राष्ट्रिय टिमबाट खेल्ने सपना अधुरै छाडेर प्रशिक्षण यात्रामा होमिएका महेशले यसपटक प्रशिक्षकका रूपमा एउटा अनुपम उपलब्धि हासिल गरेका छन्।
आफ्नो खेल जीवनमा राष्ट्रिय टोलीमा पर्न पनि विफल उनले यसपटक नेपालको महिला टिमलाई पहिलोपटक विश्वकपको मञ्चमा पुर्याए।
गत साता युएईमा भएको विश्वकप छनोटमार्फत् यू-१९ महिला टिमलाई विश्वकपमा पुर्याएका महेश अहिलेको उपलब्धिमा खुसी देखिन्छन्। तर यसैमा रमाएर बस्ने छुट आफूहरूलाई नभएको तथ्यबारे उत्तिकै सचेत सुनिन्छन्।
'हामी एसियाकप र विश्वकप केही समयको अन्तरमा खेल्दैछौं। आगामी यात्रा ज्यादै मुस्किल छ,' केही दिनको बिदामा गृहनगर विराटनगर आएका प्रशिक्षक रिजालले भने, 'भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रिका जस्ता टेस्ट राष्ट्रहरूसँग आगामी खेल खेल्नुछ। त्यसैले अहिलेको सफलतामा रमाउनेभन्दा पनि यसलाई आधार बनाएर आउँदो चुनौती झेल्ने तयारीमा लाग्नुछ।'
उनका अनुसार आउँदो सातादेखि यू-१९ महिला टिमले एसिया कपको तयारी थाल्दैछ। त्यसका लागि अबको तीन दिनपछि उनी काठमाडौं जानेछन्।
विराटनगर-५ नवयुवा मार्गका स्थायी बासिन्दा ५४ वर्षीय महेशले कक्षा सात पढ्दै क्रिकेटसँग साइनो जोडेका थिए। त्यस बेला विराटनगरमा भर्खरै क्रिकेट माहोल गर्माउँदै थियो।
उनका दाइहरू क्रिकेट खेल्थे। दाइहरूले खेलेको देखेरै महेशमा क्रिकेट प्रेम टुसाएको थियो। अरू धेरै खेलाडीको जस्तै उनको क्रिकेट यात्रा घरको आँगनमा ब्याट समाएर सुरू भयो। बिस्तारै क्रिकेटसँगको नाता पनि झ्यांगिदै गयो।
टोलमा खेल्नेहरूले भने उनलाई 'सानो' भनेर हम्मेसी टिममा राख्दैनथे। त्यसैले दामलेहरू भेला गरेर गल्लीमा खेल्थे। गल्लीमा राम्रो खेल्नेहरूमाथि कोही 'सिनियर' को नजर परे बल्ल टोल टिममा उक्लिने अवसर आउँथ्यो। यो अवसर पाउन महेशले धेरै कुर्नु परेन।
विराटनगरका गल्लीमा उनले ब्याट घुमाएको र विकेट पछाडि बल समाएको देख्ने सिनियरहरूले उनलाई टिममा बोलाउन ढिला गरेनन्। जब मैदानमा पुगेर महेशले खेल देखाउन पाए, उनलाई हौस्याउने अग्रजहरू धेरै भए।
'उहाँको खेल देख्नेहरू सबैले एक दिन राष्ट्रिय टिमबाट खेल्छ भन्थे,' विराटनगरकै पुराना क्रिकेटर रोशन बुढाथोकीले भने, 'ब्याटिङ र विकेट-किपिङमा राम्रो दख्खल भएकाले उहाँप्रति सबै आशावादी थिए। तर खेलाडीको दुर्भाग्य, कहिले के, कहिले के कारणले उहाँले राष्ट्रिय टिमबाट खेल्न चाहिँ पाउनुभएन।'
राष्ट्रिय टिमबाट खेल्ने अवसर नपाए पनि महेशले राष्ट्रिय प्रतियोगिताहरू धेरै खेल्न पाए। सन् १९९६ देखि १९९९ सम्म उनले उत्तम कर्माचार्य, एलबी क्षेत्री, राजु खड्काहरूसँग एकै मैदानमा खेलेको अनुभव सँगाले।
'१९९८ मा राष्ट्रिय टिमको क्लोज क्याम्पसम्म पुग्दा सपना पूरा होला कि भन्ने आशा थियो, तर भएन,' महेशले विगत सम्झिए, 'तैपनि हार चाहिँ मानेको थिइनँ। फेरि प्रयास गर्छु भन्नेमा लागेको थिएँ।'
त्यही बेला, सन् १९९९ मा, उनलाई क्रिकेट खेल्ने क्रममा चोट लाग्यो। खेल र पढाइ सँगसँगै अघि बढाइरहेका उनी व्यवस्थापनमा स्नात्तकोत्तर गर्दै थिए। हातमा ठूलो चोट लागेपछि चिकित्सकहरूले कम्तीमा एक वर्ष खेल्न नहुने चेतावनी दिए। उनी आत्तिए।
'मेरा लागि क्रिकेट सबथोक थियो। एक वर्षसम्म नखेल्नु भन्ने त अकल्पनीय थियो,' महेशले भने, 'त्यही बेला हो, मलाई कोचिङ कोर्स गर्नुपर्ला कि भन्ने लागेको।'
त्यतिखेर नेपालमा प्रशिक्षण सम्बन्धी कुनै गतिविधि हुँदैन थियो। भारत, पञ्जाबको पटियालामा गएर प्रशिक्षण सम्बन्धी तालिम लिनुपर्थ्यो। बुझ्दै जाँदा उनले थाहा पाए, पटियालाको कोर्स एक वर्षमा सकिने रहेछ।
'वर्ष दिन कोर्स गर्छु, फर्केर फेरि खेल्छु भन्ने सोचेर म पञ्जाब गएँ,' उनले सुनाए, 'कोर्स थालेपछि प्रशिक्षण झनै बृहत विषय रहेछ भन्ने थाहा भयो।'
उनको ध्येय खेल्नु नै थियो, प्रशिक्षण थिएन। तर हातमा बोकेको चोटले वर्ष दिनसम्म मैदानमा जाने अनुमति दिँदैन थियो। १२ महिना मैदान बाहिर रहँदा क्रिकेटसँगको नाता तोडिएला भन्ने चिन्ताले अत्यास लगाउँथ्यो।
'खासमा क्रिकेटसँग जोडिइरहन म प्रशिक्षणका लागि पञ्जाब गएको थिएँ,' उनले भने, 'एक वर्ष पढेर आउँदा भने प्रशिक्षण मोह पलाइसकेको थियो।'
वरगाछी युवा क्लब, गुराँस पुस्तकालय हुँदै राष्ट्रिय प्रतियोगिता खेल्दासम्म पनि महेश र उनको पुस्ताका धेरै खेलाडी 'प्यासन' कै बलमा क्रिकेट खेल्थे। व्यावसायिक वातावरण बनिसकेको थिएन। पञ्जाबबाट फर्केर केही समय उनले पहिले जस्तै स्वयंसेवी रूपमा मोरङ र त्यस बेलाको पूर्वाञ्चल टिमलाई प्रशिक्षण दिए।
२०६१ सालमा उनी राष्ट्रिय खेलकुद परिषद (राखेप) मा जोडिए। परिषदमा सहायक प्रशिक्षकका रूपमा नियुक्ति पाएपछि भने आफूले मन पराएको काम उनका लागि जागिर बन्यो। मोरङ दरबन्दी भएपछि महेशले जिल्ला र क्षेत्रको टिम सम्हाल्ने अवसर पाए।
महेशका अनुसार सन् २००४ उनका लागि एउटा अविष्मरणीय वर्ष बन्यो।
नेपालको यू-१९ टिमले विश्वकप खेल्दा महेश त्यो टिमको सहायक प्रशिक्षक थिए।
उनले सम्झिए, 'रोय डायस हेड कोच हुनुहुन्थ्यो। त्यो टिममा पारस खड्का, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी जस्ता खेलाडीहरू थिए। म पहिलोपटक ठूलो प्रतियोगितामा पेस हुँदै थिएँ। त्यसबाट धेरै कुरा सिक्ने मौका पाइयो।'
त्यसपछिको केही वर्ष पारिवारिक कारणले पाएका अवसर पनि गुमाउनुपरेको नमिठो सम्झना छ उनीसँग। बुबाको प्रतिकूल स्वास्थ्यका कारण महेश केही समय क्रिकेटबाट टाढिन बाध्य भए।
'करिअर माया मारेर बुबाको सेवामा लाग्ने विरलै खेलकर्मीमध्ये उहाँ एक हो,' अर्का क्रिकेटर रोशन बुढाथोकीले भने, 'विभिन्न प्रस्तावहरू लत्याएर उहाँले बुबाको सेवा गर्नुभयो।'
बुबाको निधनपछि महेश मैदान फर्किए।
त्यसपछि उनले एनपिएल (नेपाल प्रिमियर लिग) मा विराटनगरको टिम सम्हाले। एउटा उपाधि पनि जिताए। अहिले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का सचिव क्रिकेटर पारस खड्का कप्तान र महेश प्रशिक्षक हुँदा विराटनगरले उपाधि जितेको थियो।
दुई वर्षअघि मात्रै महेशले यू-१९ महिला टोलीलाई विश्वकप छनोटमा प्रशिक्षण गर्ने अवसर पाए। मलेसियामा भएको त्यो प्रतियोगिता सम्झनलायक भने रहेन। नेपाल त्यस बेला युएईसँग जम्मा ८ रनमा अलआउट भयो।
'नेपाली टिम अनुभवी थिएन, तयारी पनि धेरै राम्रो हुन पाएको थिएन,' रिजालले अहिलेको अवस्थासँग तुलना गर्दै भने, 'त्यसको दाँजोमा अहिले टिममा अनुभवी खेलाडी छन्। डेढ-दुई महिना लामो बन्द प्रशिक्षण गर्न पाइयो। त्यति मात्रै होइन, युएई जानुअघि दिल्लीमा चार वटा अभ्यास खेल खेल्न पायौं। दिल्लीकै यू-१९ टिमसँगको अभ्यासले हाम्रो टिमको जितको आधार बलियो बनाएको थियो।'
टोलीको दुई वर्षअघिको बिर्सनलायक प्रदर्शनका बाबजुद क्यानको नयाँ कार्यसमितिले महेशलाई भरोसा गरेर यू-१९ टोली हेर्ने जिम्मेवारी फेरि सुम्पेको थियो। उनी राखेप को सहायक प्रशिक्षकका रूपमा विराटनगरमै व्यस्त थिए। क्यानले बोलाएपछि उपलब्ध भए।
प्रशिक्षकका रूपमा टिमसँग जोडिएपछि उनले विगतका गल्ती नदोहोर्याउने, खेलाडीलाई मानसिक रूपमा बलियो बनाउने प्रण गरेका थिए। युएईको गर्मीमा खेल्नुपर्ने भएकाले क्लोज क्याम्प दाङमा राखिएको थियो। केही समय भैरहवामा पनि प्रशिक्षण गरेर उनको टिम दिल्लीतिर लाग्यो।
दिल्लीको अभ्यास खेलले खेलाडीहरूको आत्मविश्वास बढाएको भन्दै उनले थपे, 'यही कारणले पनि खेलाडी र टिमका लागि एक्सपोजर र व्यस्तता कति जरूरी हो भन्ने देखाउँछ।'
टिमलाई विश्वकपमा पुर्याएर क्यानले आफूमाथि गरेको भरोसा पूरा गर्न पाएकोमा उनलाई आनन्द लागेको छ।
'म क्यानप्रति आभारी छु,' उनले भने, 'तर अबको यात्रा झनै चुनौतीपूर्ण छ।'
उनका अनुसार टिम आउँदो सातादेखि एसियाकप र विश्वकपको तयारीमा जुट्दैछ। क्यानले एसियाकपका लागि उनैलाई प्रशिक्षकका रूपमा काम गर्न भनेको छ। विश्वकपमा पनि आफैले अवसर पाउनेमा उनी आशावादी छन्।
एसियाकप र विश्वकप जस्ता ठूला मञ्चमा नेपाली यू-१९ टिमबाट के कति अपेक्षा गर्न सकिन्छ — महेशलाई चुनौती दिने प्रश्न अहिले यही भएको छ।
जबाफमा उनी आत्मविश्वासी सुनिन्छन्, 'यी दुवै प्रतियोगिता टी–२० फर्म्याटमा खेलिने हो। यो फर्म्याट भनेकै त्यस दिन जसले राम्रो खेल्यो, उसैले जित्ने हो। त्यसैले हामी हरेक खेल जित्नकै लागि खेल्नेछौं। खेलाडीलाई त्यही अनुसार तयार पार्नेछौं।'
हुन पनि अब पाकिस्तान र भारत जस्ता बलिया टोलीसँग एसिया कपमा, अनि बंगलादेश, साउथ अफ्रिका, स्कटल्यान्ड जस्ता टिमसँग विश्वकपमा उनको टिमले खेल्नुपर्नेछ।
विश्वकप छनोटमा जानुअघि खेलाडीहरूलाई त्यसको महत्त्वबारे जानकारी गराएको उनी बताउँछन्। त्यस्तै मानसिक रूपले पनि बलियो बनाएको उनले बताए।
भने, 'अब पनि कुनै कसर छाडिने छैन। किनभने यो देशको प्रतिष्ठाको विषय हो।'
कुनै पनि खेल अथवा क्रिकेटमा प्रशिक्षक के हो, के होइन — यसको हाजिरीजबाफ शैलीको उत्तर महेशसँग छैन।
केहीबेर सोचमग्न बनेपछि उनले मैदानमा जे जति गर्ने हो, खेलाडीले नै गर्नुपर्ने तथ्य बताए।
र, प्रशिक्षकको भूमिकाबारे भने, 'क्रिकेटमा प्रशिक्षकको भूमिका बृहत् हुन्छ। खेलाडीको दक्षता चिन्ने, सोही अनुसार उसलाई प्रयोग गर्ने, त्यसलाई अझै सुदृढ बनाउने, उनीहरूलाई प्रेरित गर्ने, आवश्यक योजना बनाउने जस्ता पर्दा पछाडिका सबै काम प्रशिक्षकले गर्नुपर्छ। त्यसैले यो काम चुनौतीपूर्ण छ।'
यसपटक जस्तै यू-१९ महिला टिमले एसियाकप र विश्वकप यात्रामा प्रशिक्षणको कमान्ड महेशले सम्हाल्दा पूजा महतोले कप्तानको जिम्मेवारी निर्वाह गर्नेछिन्।
पूजा तिनै खेलाडी हुन्, जसले यसपटक एकै खेलमा ब्याटबाट शतक र बलबाट ५ विकेट लिने दुर्लभ सफलता हात पारिन्।
'हामीसँग पूजा महतो, सोनी पाख्रिन जस्ता अनुभवी खेलाडी छन्। अनि टी-२० भनको त्यो दिन जसले राम्रो खेल्यो, उसैले जित्ने गेम हो,' उनले दोहोर्याएर भने, 'हाम्रो टिम अलराउन्डरहरू पनि धेरै भएको सन्तुलित टिम हो। म चाहिँ एकदमै धेरै आशावादी छु।'
नेपालको सिनियर पुरूष टिमले दुईपटक टी-२० विश्वकप खेलिसकेको छ। यू-१९ धेरैपटक खेलिसकेको छ। नेपाली महिला टोलीले भने पहिलोपटक विश्वकपको मञ्चमा आफूलाई उभ्याउँदैछ। नेपाली महिला टिमको खास परीक्षा अब हुनेछ भन्ने क्रिकेट पारखी र जानकारहरूको बुझाइ छ।
यसलाई महेश स्वाभाविक अपेक्षा मान्छन्।
अपेक्षासँगै मुलुकले केही जिम्मेवारी अनिवार्य रूपमा पूरा गर्नुपर्ने उनको भनाइ छ। क्रिकेटको घरेलु संरचनामा सुधार ल्याउँदै खेलाडीलाई व्यस्त राख्न सके नेपालको अवस्था अझै माथि जाने पक्का रहेको पनि उनले बताए।
'मुख्य रूपमा ग्रासरूट क्रिकेट हुनुपर्यो। जिल्लास्तरबाटै फुटबलको जस्तै ए डिभिजन, बी डिभिजन लिगहरू हुनुपर्यो। ५० ओभर र दुई वा तीन दिवसीय खेलहरू पनि निरन्तर हुनुपर्छ। त्यसले हाम्रो क्रिकेटको अवस्था माथि लैजानेछ।,' उनले भने।
क्रिकेट संरचना बलियो भए नेपालको जुनसुकै टिमले राम्रो नतिजा दिने सामर्थ्य राख्ने महेश बताउँछन्।
महिला टोलीलाई विश्वकपमा पुर्याएर फेरि पनि क्रिकेटको ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्नुपर्ने क्षणको सम्मुखमै रहेका बेला उनलाई हामीले फेरि सोध्यौं, 'महिला टिमलाई विश्वकपमा पुर्याउनुभयो। अब आफूले राष्ट्रिय टिमबाट खेल्न नपाएको गुनासो मेटियो कि बाँकी नै छ?'
उनी एकछिन चुप रहे। अनि भने, 'त्यो खेलाडी हुँदाको लक्ष्य थियो। अहिले प्रशिक्षक भएपछि लक्ष्य फेरिएको छ। म नयाँ लक्ष्यमै दृढतापूर्वक लागिरहेको छु।'