थ्रि स्टार क्लब सिमरामा जारी नवौं सिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सुदूर पश्चिमलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै थ्रि स्टार अन्तिम चारमा प्रवेश गरेको हो।
निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टीमा गरिएको थियो।
थ्रीस्टारले खेलको ४३ औं मिनेटमा विश्वास श्रेष्ठको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफ १-०ले अघि रहेको थ्रि स्टारले ८७ औं मिनेटमा गोल खाएको थियो।
मणिराम चौधरीले सुदूरपश्चिमका लागि गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। त्यसपछि दुबै तिरबाट गोल भएन र खेलको निर्णय पेनाल्टीमा गरिएको थियो।
पेनाल्टीमा थ्री स्टारका लागि रेजिम धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनिल बालले आफ्नो अवसर गोलमा परिणत गरे ।
सुदूरका लागि नरेन्द्र चौधरी र राकेश हमालले पेनाल्टीलाई परिणत गरे पनि जीबन चौधरी र चेतन थारु चुक्दा सुदूर पश्चिम क्वाटरफाइनलबाट बाहिरिन बाध्य भयो ।
यसअघि मोरङ फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। भोलि अन्तिम क्वाटरफाइनल खेलमा वीरगन्ज युनाइटेड र सिएमजी संकटा भिड्दै छन्।