चार वर्षअघि खुला ठाउँ, मैदान नै मैदान भएको तराईको सहर धनगढीमा आशिष शाहले ठूलो घर र घरभित्रै मैदान बनाए।
एलएन चोकमा घरभित्रै फुटबल मैदान बनाएको देख्दा चिनेजानेका मान्छे अचम्म पर्थे। शंकालु नजरले हेर्दै भन्थे- के गर्न लाग्यो यसले?
शाहले भने यहीँ कोर्नु थियो सानैदेखि व्यवसायी बन्ने सपनाको गोरेटो।
सपना त छँदैछ सानैदेखि उनको अर्को रहर थियो- खेलकुद।
सके खेल्ने नभए हेर्ने!
काठमाडौं बस्दा उनले भेटेका थिए आफ्नो सपना र खेलको एउटा मैदान!
जहाँसम्म पुग्न उनले अलिक समय कुर्नुपर्यो। उनले धनगढीमै स्कुलको पढाइ सकेका थिए। प्लस टु सकेर उनी व्यवस्थापनमा स्नातक पढ्न काठमाडौं गए।
उनका साथीहरू क्लासमा खेलका गफ निकै गर्थे। फुटबलदेखि क्रिकेटसम्मका गसिप सुन्न समेत मजा हुन्थ्यो। कति त बिदाको दिन फुटबल वा क्रिकेट खेल्थे पनि।
सात आठवर्षअघि काठमाडौंमा एउटा नयाँ विधाको खेल खेल्ने लहरै आयो- फुटसल।
काठमाडौंजस्तो साँघुरो ठाउँमा खुला मैदान थिएनन् जहाँ युवाहरू खुलेर फुटबल खेल्न सकून्। फुटसल भने सानो मैदानमा समेत खेल्न सकिन्थ्यो। ठूलो भवनको एउटा तलामा त्यस्तो मैदान बनाउन सकिने। काठमाडौंमा फुटसल मैदानहरू धेरै नै खुल्न थाले, युवाहरू त्यसमा झुम्मिन।
उनी र उनका साथीहरूलाई पनि फुटसलको लहरले नसमात्ने कुरै भएन।
आ–आफ्नो चाहेअनुसार समय मिलाएर उनी साथीहरूसँग फुटसल खेल्न थाले। आफूहरूजस्ता दर्जनौं टिम दैनिक खेल्न आएका उनी देख्थे। निश्चित शुल्क तिरेर खेल्थे।
फुटसल व्यवसाय बनेको देखेपछि उनको मनमा बत्ती बल्यो।
पढाइ सकिएपछि उनका काठमाडौं बस्ने दिन सकिए। उनी धनगढी फर्किने भए। फर्किंदा उनको मनमा फुटसल खोल्ने योजना थियो।
‘व्यवसायले जागिरभन्दा राम्रो कमाइ हुन्छ भन्ने कुरा त बुवाको अनुभवले मलाई सिकाएको थियो,’ उनले भने।
उनका बुवाआमा दुवै जागिरे थिए। जागिरको समयमा बाहेक आमाले घर चलाउँथिन्, बुवाको मिल थियो। मिलको व्यवसायबाट पैसा धेरै आउँथ्यो। उनलाई जागिरभन्दा त व्यवसाय नै गर्नुपर्ने रहेछ भन्ने त्यही बेला लागेको हो। ठूलो भएपछि व्यवसायी बन्ने सपना पनि उनले त्यसैबेलादेखि देख्न थालेका हुन्।
ठूला हुँदै गएपछि के व्यवसाय गर्ने भन्ने कुराले आकार लिएको भने फुटसल खेल्न थालेदेखि नै हो।
‘काठमाडौंबाट फर्किंदा मलाई आफू पनि खेल्न छोड्नुहुन्न र यसैलाई व्यवसायिक रूपमा सुरू गर्नुपर्छ भन्ने लागिसकेको थियो,’ उनले भने।
घर फर्केको केही समयपछि नै यसबारे उनले आमाबासँग कुरा गरे।
'व्यवसाय सुरू गर्ने प्रस्ताव घरमा राखें। बुवाआमाले भने पढाइमा लगानी धेरै भएको भन्दै जागिर गर्नुपर्छ भन्नुभयो,' उनले भने।
तर उनले फुटसल चलाउने अडान छोडेनन्। उनको सपना पूरा गर्न बुवाआमाले लगानी गर्न केही पैसा दिने भए।
उनले सँगै पढेका एक जना साथीसँग पनि मिलेर फुटसल खोल्ने प्रस्ताव गरे। उनी राजी भए। योजना बनाए। त्यसपछि जग्गा खोज्न थाले। जग्गा खोज्दै जाँदा एक जना अर्का विजनेस पार्टनर पनि भेटिए।
'जग्गा मुख्य बजारमा चाहिएको थियो, धेरै ठाउँ खोजेर पाएका थिएनौं, एकदिन यहाँ फ्लाटल्याण्डमा चिया खाँदै गर्दा एक जना दाइसँग कुरा भो, त्यहाँ जग्गा पनि पाइयो र दाइ पनि जोडिनुभयो,' उनले भने।
चार जनाले २५ प्रतिशतका दरले लगानी गरेर ७५ लाखमा फुटसल सञ्चालनको योजना पूरा भयो।
जग्गाको मासिक २५ हजार भाडा पर्ने भयो। घरको डिजाइन गर्दा फुटसल नचले पार्टी प्यालेस बनाउने गरी बनाउनुपर्ने शाहको सोच थियो।
त्यसका लागि अग्लो छाना भएको घर बनाउनु पर्ने भयो। तर धनगढीमा त्यस्तो घर बनाउन चाहिने सामान नै पाइएन।
'धनगढीमा मोटो पाइप पाइएन। कार्पेट पनि नेपालमा धेरै महंगो पर्ने भयो। पाइप नारायणघाटतिरबाट र कार्पेट चीनबाट मगाइयो,' उनले भने।
२०७४ सालमा निर्माण सुरू भएको फुटसल ७ महिनामा तयार भयो। फुटसलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मैदान बन्यो।
निर्माण सकिनासाथ केही टिम मासिक शुल्क तिर्नेगरी दर्ता हुन थालिसकेका थिए।
‘घाम-पानी वा राति जस्तो बेलामा पनि खेल्न पाइने भएकाले दिनभरि व्यस्त हुनेहरू समय मिलाएर खेल्न थाले,’ उनले भने।
धनगढीको पहिलो फुटसल भएकाले भिड थियो। खेलको कमी थिएन। एकाध वर्ष खेलमात्र नियमित खेलाए। तर उनले अब फुटसल प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेका थिए। कोरोना महामारी सुरू भयो। फुटसल प्रतियोगिता नियमित चलाउने उनको लक्ष्यमा कोरोना महामारी बाधक बन्यो।
कोरोना लागेपछि एक वर्ष बढी उनको फुटसल बन्द भयो।
'यसबाट बीचमा त जग्गाको भाडा नै तिर्न नसक्ने भयो। मेरो परिवारले विदेश जान दबाब दिन थाल्यो तर मैले यतै काम गर्नुपर्छ भनेर कन्भिन्स गरें,' उनले भने।
कोरोना सकिँदै गएपछि फेरि अहिले नियमित खेल सुरू भएको छ। अहिले उनको फुटसलमा दैनिक खेल्ने ६ टिम छन्। कहिलेकाहीँ आउनेहरू पनि दिनमा एक/दुई टिम थप आएका हुन्छन्।
कहिलेकाहीँ खेल्ने टिमले एक घण्टाको १ हजार ५ सय शुल्क तिर्छन् भने नियमित खेल्ने टिमले मासिक ३० हजार तिर्छन्।
विद्यार्थी र महिलाको टोलीलाई उनले एक सय रुपैयाँमै खेल्न पाउने सुविधा दिएका छन्।
फुटसलबाट मासिक दुई लाख बराबरको आम्दानी भइरहेको उनले बताए।
फुटसल सञ्चालन भएपछि खेल, स्वास्थ्य र व्यवसाय तीन पक्षमा सहयोग भइरहेको उनी बताउँछन्।
उनको फुटसलमा ४ जना स्थानीयले रोजगारी पाएका छन्।
'जोसँग ठूलो ग्राउण्डमा गएर खेल्ने समय हुँदैन, समयको सदुपयोग गर्न चाहन्छन्, जस्तै अफिस जाने मान्छे, सरकारी कर्मचारी डाक्टर, इन्जिनियरहरू टिम बनाएर फुटसलमा खेल्न आउँछन्,' उनले भने।
योजना र हिम्मतले सोचेको व्यवसाय गरिरहेका उनी जति आफ्नो लगानी हुन्छ त्यतिबाटै व्यवसाय सुरू गर्नुपर्ने बताउँछन्।
खेलसँगै जोडेर व्यवसाय पनि राम्रै चल्न थालेपछि आशिष मख्ख छन्।
फुटसलमा नियमित आउने ललित मिश्र बाहिरतिर सधैं खेलकुद आयोजना नहुने हुनाले खेलको तिर्सना फुटसलले मेटेको बताउँछन्।
फुटसलमा नुहाउने, पानी र खाजाको उपलब्धताले पनि खेलमा निरन्तर रूची बनाइराख्न सहज पारेको उनले बताए।
'यहाँ थुप्रै मैदान भए पनि प्रतियोगिता नै हुँदैनन्, निजी स्तरबाट हुने पनि कोरोनापछि भएनन्, अहिले फुटसल नै फुटबल नियमित खेलिने ठाउँ बनेको छ,' उनले भने।