२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।
शनिबार सम्पन्न फाइनल प्रतियोगितामा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले २२ औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो।
गोल्डकप उपाधिसँगै मनाङ मर्स्याङ्दीले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ। सुदूरपश्चिम ११ ले भने ५ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ।
त्यसअघि भएको खेलको निर्धारित समयमा दुबै टिमबाट १-१ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।
खेलको ५८ औं मिनेटमा मनाङ मर्स्याङ्दीका सायद जामोलको पासमा कोफिट टोमिटेले गोल गर्दै आफ्नो क्लबको पक्षमा खाता खोलेका थिए।
खेलको ७० औं मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले गोल गर्दै खेललाई बराबरीमा पुर्याएपछि खेल रोचक मोडमा पुगेको थियो। त्यसपछिको समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा लगिएको थियो।
ट्राइब्रेकरमा पनि दुबै टिमको बराबरी भएपछि सडन डेथ मार्फत निर्णय लिइएको थियो। मनाङ मर्स्याङ्दीले तिलोत्तमा गोल्डकप पहिलो पटक उचालेको हो।
यस्तै प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सुदूरपश्चिम ११ का फागुराम थारुले स्कुटर उपहार जितेका छन्।
त्यस्तै थारुले बेष्ट फरवार्ड घोषित हुँदै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा बेष्ट किप्परमा मनाङ मर्स्याङ्दीका जियानाथ शेख, बेष्ट मिड फिल्डर भिसन गुरुङ, बेष्ट डिफेन्डर आशिष गुरुङ र बेष्ट कोचको उपाधि पनि मनाङ मर्स्याङ्दीकै किरन श्रेष्ठले जितेका छन्। उनीहरू सबैलाई जनही ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
बुटवल ११ देविनगर स्थित एन्फा टेक्निकल सेन्टरमा चैत ५ गतेदेखि संचालन गरिएको प्रतियोगितामा दुई विभागीय टिमसहित ८ टिमको सहभागिता थियो।