काठमाडौं किकर्स फुटबल एकेडेमीको १३ वर्ष मुनिको टिमले जर्मनीको म्युनिकमा फिन्च्त जुनियर फुटबल ५४ औं भीआर बैंक कप २०२३ मा सोमबार दुई खेलमा जित निकालेको छ। अन्तिम दुई खेलमा जित हात पारेसँगै काठमाडौं किकर्स ११ औं भएको छ।
एसभी मामेन्डर्फको आयोजना भएको तीन दिने प्रतियोगिताको अन्तिम दिन किकर्सले टीएसभी मुरेनवेइसलाई २–० ले हरायो। खेलमा विशांक कार्की र अबिन भट्टराईले गोल गरेका थिए। जितसँगै किकर्स समूह २ मा छैटौं भयो।
यसससँगै ११ औं स्थानको लागि किकर्सले समूह १ मा छैटौं नै भएको टीएसभी गेल्टेन्डोर्फविरुद्ध प्लेअफमा खेल्यो। जसमा किकर्सले ३–१ ले विजयी भयो। खेलमा १–० ले पछाडि परे पनि पुनरागमन गरेको किकर्सका लागि अबिनले दुई गोल गरे भने अंगश भुषालले एक गोल थपे।
किकर्स यू-१३ मा सहभागी १६ टिममध्ये पाँच टिमलाई पछाडि पार्दै ११ औं भयो। सुरुका तीन खेल हारेको किकर्सले प्रतियोगितामा तीन जित, एक बराबर र चार हारको नतिजा निकाल्यो। समूह चरणमा किकर्सलाई २–१ ले पराजित गरेको एफएसभी इचिङ यू १३ च्याम्पियन बन्यो।
किकर्स ५६ वर्षअघि सुरु भएको फिन्च्त जुनियर फुटबलमा सहभागी हुने पहिलो नेपाली टिम हो। ६ वर्षदेखि १५ वर्षसम्मका ६ वटा उमेर समूहका प्रतियोगिता आयोजना गरिएको ५४ औं संस्करणमा २० क्लबका ६४ टिम सहभागी भएका थिए। उनीहरूवीच २ सय ९० खेल भए।
कोभिड १९ महामारीअघि फ्रान्स, इटाली, स्वीटजरल्यान्ड, अस्ट्रियालगायत युरोपका विभिन्न देशका क्लब सहभागी हुने प्रतियोगितामा यसपटक एक्लो विदेशी टिमको रुपमा नेपालको काठमाडौं किकर्सले प्रतिस्पर्धा गर्यो।