अखिल नेपाल फुटबल संघ (एन्फा) को गत वैशाख २५ गते बसेको आकस्मिक कार्यसमितिको बैठकले पारित गरेको सन् २०२३ को बजेट कार्यक्रमप्रति एक उपाध्यक्षसहित चार जनाले असन्तुष्टि जनाएका छन्।
बैठकले सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २२९ रूपैयाँको बजेट कार्यक्रम परिमार्जनसहित पारित गर्ने निर्णय गरेको थियो।
तर यो निर्णयप्रति उपाध्यक्ष विराटजंग शाहीसहित सदस्यत्रय भोजराज शाही, रुपेश अधिकारी र रविन्द्र चन्द ठकुरीले नोट अफ डिसेन्ट बुझाएका छन्।
चारै जनाले जेठ १५ मा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको इमेलमा नोट अफ डिसेन्ट पठाएका हुन्।
उनीहरुले आकस्मिक बैठकमा बजेट जस्तो विषय एजेन्डा बन्न नसक्ने दाबी गरेका छन्।
कुनै छलफल र बहसबिना अन्तिम समयमा बजेट कार्यक्रम ल्याइएकोमा उनीहरूको आपत्ति छ।
पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको एन्फाले अनावश्यक कर्मचारी थप गरेर संस्थालाई आर्थिक भार थपेकोमा पनि उनीहरुको असन्तुष्टि छ।