सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब दोस्रो स्थानमा उक्लिएको छ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोलले पराजित गर्दै जावलाखेल दोस्रो स्थानमा उक्लिएको हो।
जावलाखेलको जितमा दुवै गोल एनकोटो मोसोबीले गरे। उनले खेलको ५६ मिनेटमा पहिलो गोल गर्दा ७९ मिनेटमा अग्रता दोब्बर पारे।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको जावलाखेलको २३ खेलबाट ३७ अंक भएको छ।
शीर्ष स्थानको चर्च ब्वाइजको २२ खेलबाट ३८ अंक छ भने तेस्रो स्थानमा झरेको मछिन्द्रको ३६ अंक छ। आर्मी भने ३० अंकसहित पाँचौ स्थानमा छ।