अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको कर्णाली प्रदेश फुटबल संघ तीन वर्षदेखि तदर्थ समितिको भरमा चलेको छ।
एन्फाले २०७७ को पुसमा प्रमोद हमालको अध्यक्षतमा तदर्थ समिति गठन गरेको थियो। त्यतिबेला एन्फाका तत्कालीन केन्द्रीय परीवेक्षक कुमार केसी र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीको उपस्थितिमा प्रदेश संघ गठन गरिएको थियो।
तदर्थ समितिको मुख्य काम नै निवार्चन गराएर नेतृत्व हस्तान्तरण गर्ने भए पनि कर्णाली प्रदेशमा भने त्यसो हुन सकेको छैन।
तीन वर्षसम्म तदर्थकै भरमा संघ चलेपछि एन्फाका केन्द्रीय सदस्य रविन्द्र चन्दले विरोध गर्दै आएका छन्। उनी कर्णाली प्रदेशअन्तर्गतको सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष समेत हुन्।
'कर्णाली प्रदेश फुटबल संघको अविलम्ब निर्वाचन हुनुपर्छ भनेर धेरै प्रयास गरियो। टेलिफोन, इमेल साथै भौतिक रुपमै एन्फाका अध्यक्ष, महासचिवज्यू र तदर्थ कर्णाली प्रदेश फुटबल संघलाई घचघच्याउदा समेत कुनै ठोस पहल भएन, जिम्मेवारीबोध भएन। ७ प्रदेश मध्ये कर्णालीमा मात्रै निर्वाचन नगर्ने र नगराउने अवस्था किन आयो? कतिन्जेलसम्म अवैधानिक तदर्थ समिति राखिरहने हो? तदर्थ समितिले समेत निर्वाचन गराएर नयाँ नेतृत्व दिन असफल भैसकेको यथार्थ स्विकार्नु पर्दैन, लज्जाबोध हुँदैन?,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले अघि लेखेका छन्, 'म स्वयम् कर्णाली प्रदेशबाट एन्फा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गरेका कारण पनि यो विषयले मन पोलिरह्यो, पछिल्लो ५-६ महिना यता लागिपरे, आफ्नो तर्फबाट अथक प्रयास गरे, यसरी जिल्लास्तरमा बसेर फुटबलको विकासलाई अगाडि बढाउन इमानदारीपूर्वक खटिएका साथीहरुलाई निरुत्सहित गर्न मिल्छ?'