मनाङ मस्र्याङ्दी विरुद्ध ‘सडन डेथ’ मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
पोखरा रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि जावलाखेल पेनाल्टीमा विजयी बनेको हो।
जावलाखेलले सेमिफाइनमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भुटानको पारो फुटबल क्लबलाई २–० गोल हराउँदै थ्रि स्टार क्लबले समिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगिताअन्तर्गत मङ्गलबार चर्च ब्वाइज र नेपाल पुलिस क्लबले अन्तिम क्वाटरफाइनल खेल खेल्नेछन्।
यसअघि आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक बिजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।
मङ्गलबार हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेतासँग आर्मीले सेमिफाइनल खेल्नेछ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ।