अफ्रिका कप अफ नेसन्समा मोरक्कोमाथि २-० गोलको जित निकाल्दै दक्षिण अफ्रिका क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाका लागि माकगोपाले ५७ मिनेट र मोकोइनाले दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा गोल गरे।
त्यसअघि मोरक्कोका अर्च्रफ हाकिमीले पेनाल्टी गोल गर्दै खेललाई बराबरीमा ल्याउने अवसर गुमाएका थिए। उनले ८५ मिनेटमा हानेको पेनाल्टी क्रसबारमा लागेको थियो।
अफ्रिकाको शीर्ष वरीयताको टिम मोरक्कोले दोस्रो उपाधि जित्न अझै कुर्नु पर्ने भएको छ। उसले सन् २०२५ को प्रतियोगिता आयोजना गर्दैछ। मोरक्कोले सन् १९७६ मा पहिलो उपाधि जितेको थियो।
पूर्व विजेता दक्षिण अफ्रिकाले अब सेमिफाइनल पुग्नका लागि केप भर्डेसँग खेल्नेछ।
यता मालीले बुर्किना फासोलाई हराएर अन्तिम आठमा स्थान बनाएको छ। मालीले अन्तिम आठमा अब आयोजक आइभरी कोस्टसँग खेल्नेछ।
त्यसअघि नाइजेरिया र अंगोला तथा कंगो र गिनी अन्तिम आठमा भिड्नेछन्।