थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ।
बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा छिमेकी क्लब जावलाखेल युथ क्लबमाथि १-० गोलको जित निकालेर थ्रीस्टार उपाधि नजिक पुगेको हो।
थ्रीस्टारको जितमा दिपेश घले नायक सावित भए। उनले खेलको ७६ मिनेटमा गरेको गोल निर्णायक बन्दा थ्रीस्टारले फाइनलमा स्थान बनाउन सफल भयो।
गोल गरेको १० मिनेटअघि आदित्य शाक्यको स्थानमा मैदान छिरेका उनले दिपेश आलेमगरको पासमा गोल गरे।
अब उपाधिका लागि थ्रीस्टारले त्रिभुवन आर्मी र चर्च ब्वाइजबीचको विजेतासँग खेल्नेछ। आर्मी र चर्च ब्वाइज भोलि खेल्दा फाइनल शनिबार हुनेछ।