इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले चेल्सीको पोस्टमा चार गोल गरेको छ।
गएराति एन्फिल्डमा लिभरपुलले चेल्सीलाई ४-१ गोलले पराजित गरेको हो।
खेलको २३ औं मिनेटमा डियोगो जोटाले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि ३९ औं मिनेटमा कोनोर ब्राडलीले अग्रता दोब्बर बनाउँदा लिभरपुल पहिलो हाफमा २-० को सहज अवस्थामा रह्यो।
दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको लिभरपुलले ६५ औं मिनेटमा डोमिनिक जोबस्ज्लाइले गोल थपे।
७१ औं मिनेटमा चेल्सीका क्रिष्टोफर एनकुंकुले गोल गरे। ७९ औ मिनेटमा लिभरपुलकै लुइस डियाजले गरेको गोल निर्णायक बन्दा लिभरपुल ४-१ गोलले विजयी भएको हो।
अंक तालिकाको शीर्षस्थानमा रहेको लिभरपुल दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग ५ अंकले अगाडि छ। लिभरपुलले २२ खेलबाट ५१ अंक जोड्दा एक खेल कम खेलेको सिटीको ४६ अंक छ।