नेपाली महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजन क्लबमा आबद्ध भएकी छन्।
फ्रान्सको महिला फुटबल क्लब एना भान गुइनगाम्पले बिहीबार उनलाई टिममा अनुबन्ध गरेको हो।
साम्बाले सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमार्फत आफू क्लबमा आवद्ध भएको जानकारी दिएकी छन्।
युरोपको शीर्ष पाँच लिगमा फ्रान्स पनि पर्छ। उनी आबद्ध एना भान गुइनगाम्प युरोपको शीर्ष पाँच लिगमध्येको लिग खेल्ने महिला फुटबल टिम हो।
त्यही शीर्ष लिगमा खेल्न लागेकी साम्बा पहिलो नेपाली फुटबलर बनेकी हुन्।
साम्बाले यसअघि इसराइलको शीर्ष डिभिजनको क्लब हापोइल रा’नानामा आबद्ध भएर लिग खेलेकी थिइन्।
त्यसअघि भारतको गोकुलम केरलाबाट भारतीय महिला लिग खेलेकी थिइन्। १० खेलमा २९ गोल गर्दै उनी लिगकै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आबद्ध गोकुलमले लिग नै जितेको थियो।
साम्बा दक्षिण एसियाकै उत्कृष्ठ स्ट्राइकरमध्येमा पर्छिन्। घरेलु लिगमा उनी एपिएफबाट खेल्छिन्।
साम्बा २०१४ मा नेपाली राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन्। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। उनले डेब्यु खेलमै गोल गरेकी थिइन्।
त्यसयता उनी राष्ट्रिय फुटबल टोलीमा निरन्तर छिन्-गोल मेसिनका रूपमा