फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिकाअनुसार २०२६ को फाइनल १९ जुलाइमा न्यु जर्सीमा हुनेछ। त्यसअघि ११ जुनमा मेक्सिकोमा प्रतियोगिताको उद्घाटन खेल हुनेछ।
मेक्सिको, अमेरिका र क्यानडा गरी तीन सहआयोजकले आफ्नो घरेलु भूमिमा समूह चरणका तीन खेल खेल्नेछन्।
पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुने विश्वकपमा चार-चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइनेछ।
कुल १०४ खेल हुने विश्वकपमा १६ शहरमा खेल सञ्चालन हुनेछ। जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलहरू हुनेछन्। अमेरिकामा ७८ खेल हुनेछन् भने क्याडना र मेक्सिकोमा १३-१३ खेल सञ्चालन हुनेछन्।
सन् २०२५ को अन्त्यमा अन्तिम ड्र गरेपछि खेल सुरु हुने समय निश्चित हुनेछ। समूह चरणका खेलका लागि चार किक-अफ समयमा प्रति दिन चार खेल हुनेछन्। समूह चरणको अन्तिम चार खेलका लागि दिनमा ६ खेल हुनेछन्।
१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्नेछन्।
विश्वकप २०२६ का लागि एसियाबाट ८ टिम, अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी ४६ टिम क्षेत्रीय प्रतिस्पर्धाबाट छनोट हुनेछन्। बाँकी दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुनेछन्। युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा हुनेछ।