इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र चेल्सीले बराबरी खेलेका छन्।
गएराति इतिहाड स्टेडियममा सिटी र चेल्सीबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो।
चेल्सीका रहिम स्टर्लिङले ४२ औं मिनेटमा गोल गरेपछि घरेलु मैदानमा सिटी पहिलो हाफमा ०-१ गोलले पछि परेको थियो।
८३ औं मिनेटमा रोद्रीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। दुवै तर्फबाट थप गोल हुन नसकेपछि खेल १-१ को बराबरीमा टुंगिएको थियो।
अंक तालिकाको दसौं स्थानको चेल्सीसँग बराबरी खेलेपछि उपाधि होडमा रहेको सिटीलाई धक्का पुगेको छ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको सिटीले चेल्सीविरूद्धको खेल जितेको अवस्थामा उपाधि होडमा आफूलाई बलियो बनाउन सक्थ्यो।
अंक तालिकाको शीर्षस्थानमा रहेको लिभरपुलले २५ खेलबाट ५७ अंक र दोस्रो स्थानमा रहेको आर्सनलले २५ खेलबाट ५५ अंक जोडेको छ।
एक खेल कम खेलेको सिटीको ५३ अंक छ।
हिजोको खेल जित्न सकेको अवस्थामा उसले बाँकी एक खेलमा जित निकालेर शीर्ष स्थानमा उक्लिने सम्भावना जिवित रहन्थ्यो।
सिटीले अर्को खेल फेब्रुअरी २१ मा ब्रेन्टफोर्डसँग खेल्दैछ।